फर्केर हेर्दा : २०७० सालको निर्वाचनमा भोजपुर


 


भोजपुर, कात्तिक ६
देश फेरि निर्वाचनमा होमिएको छ । २०७२ सालमा जारी भएको नयाँ संविधानको कार्यान्वयनको क्रममा पहिलो चरण अन्र्तगत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० गते हुँदैछ भने दोस्रो चरण मंसिर २१ गते हुने मिति तय भइसकेको छ ।

मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उत्साहका साथ उम्मेदवारी मनोनयन दर्ताको काम सकिएको छ । यसअघि देशमा २०७० साल मंसिर ४ गते संविधान सभाको दोस्रो निर्वाचन भएको थियो ।

२०७० सालमा निर्वाचित भएका सभासदले संविधान निर्माण गरेसँगै संविधान सभा रुपान्तरित व्यवस्थापिका संसदमा परिणत भएको थियो ।

तिनै संसदका सांसद तथा अन्य विभिन्न दलका नेतहरु पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यतिबेला चुनावी मैदानमा देखिएका छन् ।

२०७० सालमा भएको निर्वाचनमा पूर्वि पहाडको भोजुर जिल्लाको अवस्था कस्तो थियो ? यहाँ चार बर्ष अघि भएको निर्वाचनको अवस्था देखाउने प्रयास गरिएको छ ।

चार बर्ष अघिको भोजपुरको यो निर्वाचनको तथ्यांकसँगै यतिबेला भोजपुरमा फेरी चुनावी गर्मी बढेको छ । चार बर्ष पछि हुन् लागेको निर्वाचनमा धेरै तथ्यांकहरु अदलबदल भएका छन् ।

त्यतिबेला भोजपुरमा ६३ वटा गाविस थिए भने अहिले गाविस छैनन्, स्थानीय तह बनेका छन् । ६३ वटा गाविसलाई गाभेर ९ वटा स्थानीय तह छन् ।

अहिले भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिका छन् । पहिले पहिले भन्दा भोजपुरको चुनाव नितान्त अहिले फरक छ ।

किनभने अहिले भोजपुरमा प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । पहिले दुईवटा थिए । तर प्रदेश सभा निर्वाचनका लागि भने पहिलेकै निर्वाचन क्षेत्र कायम छ ।

संविधान सभाको दोस्रो निर्वाचनमा भोजपुरका दुबै क्षेत्रमा नेकपा एमालले जित हासिल गरेको थियो । एमालेबाट क्षेत्र नं १ मा कृपासुर शेर्पा र क्षेत्र नं २ मा शेरधन राई विजयी बनेका थिए ।

क्षेत्र नं १ मा शेर्पाले ११ हजार चार सय ५० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धर्मराज राईले आठ हजार नौ सय ७० मत प्राप्त गरका थिए ।

संघीय समाजवादी पार्टीका अजम्बर राई काङमाङले चार हजार ६६ मत ल्याएर तेस्रो स्थानमा रहे भने एकिकृत माओवादीका खेमराज नेपालीले तीन हजार पाँच सय ६७ मत ल्याई चौथो स्थानमा थिए ।

त्यस्तै क्षेत्र २ मा शेरधन राई चार हजार चार सय ४४ को मत अन्तरले विजयी बनेका थिए । राईले ११ हजार नौ सय २७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी एमाओवादीका सुदन किराँतीले सात हजार चार सय ४४ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले छ हजार तीन सय ५३ मत प्राप्त गरी तेस्रो स्थानमा थिए । संघीय समाजवादी पार्टीका आसकुमार राईले दुई हजार चार सय मत प्राप्त गरी चौथो स्थानमा रहे ।

०४६ को परिवर्तन पछि भएका निर्वाचनमा एमालेले भोजपुरलाई आफ्नो किल्लाको रुपमा राख्दै आएको थियो । तर ०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमालेको किल्ला माओवादीले भत्काइदिएको थियो ।

छ वर्ष पछि भएको निर्वाचनमा एमाओवादीले आफ्नो साख जोगाउन सकेन भने एमालेले आफ्नो पुरानो साख फर्काउन सफल भएको थियो ।

नेपाली कांग्रेसले भोजपुरमा इतिहास रच्न सकेको छैन् भने अन्य दलले पनि विजयको झण्डा गाड्न सकेका छैनन् ।

भोजपुरको क्षेत्र नं १ मा १५ दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए भने क्षेत्र नं २ मा १३ दलका उम्मेदवार चुनावी मैदानमा थिए ।

यस्तो थियो मतपरिणाम
क्षेत्र १

एमाले कृपासुर शेर्पा ११४५० विजयी

कांग्रेस धर्मराज राई ८९७०

संघीय समाजवादी अजम्बर राई काङमाङ ४०६६

एमाओवादी खेमराज नेपाली ३५६७

राप्रपा नेपाल अम्बिका प्रसाद ढकाल ४६५

नेकपा माले अनिल बस्नेत ७३३

राप्रपा डम्बर बहादुर राई २९७

नेपाल परिवार दल बिमला थापा १२७

राष्टिय जनमुत्ति पार्टी टिकाराम राई ८४

राष्टिय जनमोर्चा अमृतबहादुर पाण्डे १४

नेमकिपा दिपक राई १०

खरामो नेपाल अशोककुमार राई २७०

खस समावेशी राष्टिय पार्टी भरतकुमार शाही १४३

संघिय गणतान्त्रिक समाजवादी पार्टी नेपाल प्रेमबहादुर गुरुङ १०४

शिव सेना नेपाल उत्तरकुमार बस्नेत ३०

क्षेत्र २

एमाले शेरधन राई ११९२७ विजयी

एमाओवादी सुदन किराँती ७४४४

कांग्रेस बालकृष्ण थापा ६३५३

संघीय समाजवादी आश कुमार राई २४००

राप्रपा नेपाल दोर्ची शेर्पा ३९३

नेकपा माले सुवास तिम्सिना ९७६

राप्रपा शिवकुमार राई २४७

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक काजिराम बस्नेत ६६

नेपाल परिवार दल शान्तिकुमारी मोत्तान ४५

खरामो नेपाल राजकुमार हाङखिम राई २४४

खस समावेशी राष्टिय पार्टी हस्तबहादुर थापा १३९

मंगोल नेशनल अर्गनाइजेशन शत्तिराज राई ५०

संघिय गणतान्त्रिक समाजवादी होमप्रसाद राई २०५

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्