एमाले सचिव योगेश भट्टराई उठेको ताप्लेजुङमा कुन पार्टीको अवस्था कस्तो?


 


काठमाडौं, कार्तिक ६

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट उमेदवार बनेका एमाले सचिव योगेश भट्टराई अहिले ताप्लेजुङ जिल्लाबाट उमेदवारी दर्ता दिएका छन् ।

प्रदेश नं १ को मुख्यमन्त्रीको दाबी गर्दै ताप्लेजुङमा आफ्नो नामावली सारेका भट्टराईलाई पार्टीले प्रतिनिधिसभाका लागि निर्बिरोध सिफारिस गरेपछि केन्द्रमै उठेका हुन् । केन्द्रकै प्रभावशाली नेता चुनाव लड्ने भएपछि ताप्लेजुङ तरंगित बनेको छ ।

एमाले एक्लै बलियो रहेको ताप्लेजुङमा माओवादीसँगको गठबन्धनले जित सहज हुने आँकलन गरिएको छ । स्थानीय तह निर्वाचनको नतिजाअनुसार पनि त्यस्तै देखिन्छ ।

ताप्लेजुङमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा भट्टराई, प्रदेश सभा क्षेत्र १ मा एमालेकै बलबहादुर साम्सोहाङ र प्रदेशको क्षेत्र २ बाट माओवादीका टंक आङबुहाङ उमेदवार बनेका छन् ।

भट्टराईलाई कांग्रेसबाट केशब दाहालले उमेदवारी दिएका छन् । हामीले हालै सम्पन्न स्थानीय तहको नतिजालाई पहिलो र दुई संविधानसभा निर्वाचनको मतका आधारमा ताप्लेजुङमा आगामी निर्वाचन कसको पक्षमा आँकलनको प्रयास गरेका छौं ।


यसअघि २४० निर्वाचन क्षेत्र हुँदा ताप्लेजुङमा दुई क्षेत्र थिए । तर, अहिले नयाँ संरचनाअनुसार ताप्लेजुङ एउटै क्षेत्र बनेको छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लाभर वडा अध्यक्षहरुले प्राप्त गरेको मतलाई पार्टीको मतको रुपमा लिएका छौं ।

बाम गठबन्धन ७ हजार २३४ मतले अगाडी


९ स्थानीय तह रहेको ताप्लेजुङमा ७८ हजार ४११ मतदाता रहेका छन् । असार १४ मा सम्पन्न स्थानीय निर्वाचन एमाले र कांग्रेसले प्राप्त गरेको मतअन्तर १ हजार १५७ मात्रै छ । एमालेले जिल्लाभरबाट १९ हजार ५८४ मत प्राप्त गर्दा कांग्रेसले १८ हजार ४२७ ल्याएको छ ।

तर, एमाले–माओवादी गठबन्धन भएकाले र कांग्रेसले गठबन्धन गर्ने तयारी गरिरहेका पार्टीको उपस्थिति कमजोर देखिएका कारण बाम गठबन्धनलाई जित्न सहज हुने देखिएको छ ।

ताप्लेजुङमा माओवादीको ६ हजार ७७ मत रहेको छ । जसले गर्दा दुई पार्टीको मत जोड्दा २५ हजार ६६१ मत हुन आउँछ भने कांग्रेससँगको अन्तर ७ हजार २३४ हुन्छ ।

ताप्लेजुङबाट २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट एमालका भूपेन्द्र थेवे ७ हजार ४३४ मत ल्याउँदै विजयी हुँदा कांग्रेस उमेदवार लिला देवी बोखिम लिम्बुले ७ हजार २९५ मत ल्याएकी थिइन् । अर्थात उनी १३९ मतले पराजित भएकी थिइन् । त्यस्तै माओवादीका सञ्चपाल मादेनले ६ हजार २७९ मत ल्याएका थिए ।


क्षेत्र नं २ मा पनि एमालेका डम्बरध्वज तुम्बाहाम्फे ७ हजार ३४ मतका साथ विजयी भएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका प्रताप प्रकाश हाङगाम ४ हजार ८७४ तथा माओवादीका टंक आङबोहाङले ४ हजार ५५७ मत ल्याएका थिए ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट कांग्रेस उमेदावर सूर्यमान गुरुङ विजयी भएका थिए भने क्षेत्र नं २ बाट एमाले उमेदवार डम्वरध्वज तुम्वाहाम्फे विजयी भएका थिए ।


समग्र नतिजालाई हेर्दा पार्टीहरू एक्ला–एक्लै भिड्दा एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिन्छ । तर, एमाले–माओवादी गठबन्धन हुँदा कांग्रेसभन्दा गठबन्धन केही अगाडि देखिएको छ ।

कांग्रेससँग गठबन्धनको तयारी गरेका दलहरूको यो जिल्लामा कमजोर उपस्थिति छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्