बंगलादेश विरुद्धको खेलमा दक्षिण अफ्रिकाको क्लिन स्वीप


 


काठमाडौं, कार्तिक ६

बंगलादेश विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशलाई २०० रनले पराजित गर्दै दक्षिण अफ्रीकाले सिरिजमा क्लिन स्वीप गरेको हो ।

घरेलु टोली दक्षिण अफ्रिकाले दिएको ३७० रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४० ओभर ४ बलमा अलआउट हुँदै १६९ रनमा समेटियो । यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको एकदिवसीय सिरिजमा ३ – ० को जितसहित क्लिन स्विप गरेको हो । यसअघि दक्षिण अफ्रिकाले बंगलादेशबिरुद्ध पहिलो खेल १० विकेटले र दोस्रो खेल १०४ रनले जितेको थियो ।

दक्षिण अफ्रीकाले दिएको फराकिलो लक्ष्य पछ्याउने क्रममा बंगलादेशका शाकिब अल हसनले ६३ रनको अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उच्च स्कोर जोड्न सकेनन । उसका सब्बीर रहमानले ३९ तथा माश्रफ मोर्टाजाले १७ रन जोडे । बंगलादेशलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका डान पिटरसनले ३ तथा एडिन मार्क्रम र इमरान ताहिरले समान २ – २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि रिटायर्ड हर्ट भएका फाप डु प्लेसिसले ९१ रन जोड्दा क्विन्टन डी ककले ७३ रनको पारी खेले । त्यस्तै एडिन मार्क्रमले ६६, टेम्बा बावुमाले ४८ तथा फराह बेहरडेनले अविजित ३३ रन जोडे । बंगलादेशका हासन मिराज र तास्किन अहमेदले समान २ – २ विकेट लिए ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्