नेयमारले रेर्ड कार्ड पाउँदा उनको टिम बराबरीमा रोकियो


 


काठमाडौ‌, कार्तिक ६

फ्रान्सेली लिग लिग वान फुटबलमा पेरीस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी मार्सेइलीसँग २–२ को बराबरीमा रोकिएको हो ।

मार्सेइलीको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । खेलको १६ औं मिनेटमा लुइज गुस्तावोले गोल गर्दै मार्सेइलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३३ औं मिनेटमा नेयमारले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुनः घरेलु टोलीले अग्रता बनायो । खेलको ७८ औं मिनेटमा फ्लोरियन थविनले गोल गर्दै मार्सेइलीलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलमा पिएसजी १० खेलाडीमा सिमित भयो  ।

खेलको ८७ औं मिनेटमा नेयमारले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

 

मार्सेइलीका लुकास ओकाम्पोसले फल गरेपछि नेयमारले लुकासलाई धकेलेका थिए । नेयमार लुकाससँग झगडा गर्न गएका थिए । जसको कारण दुई पहेलो कार्ड पाएर नेयमार मैदानबाट बाहिरिन बाध्य भएका थिए । तर, खेलको इन्जुरी समयमा एडिसन काभानीले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याएका थिए ।

यो बराबरीपछि पिएसजीले १० खेलबाट २६ अंक जोडेको छ । साबिकको बिजेता समेत रहेको पिएसजी लिगको शिर्ष स्थानमा छ । पराजित मार्सेइली १८ अंक जोडेर पाँचौ स्थानमा छ । लिगमा २२ अंक जोडेको मोनाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्