यस्तो छ राष्ट्रियस्तरका नेताको रोचक चुनावी प्रतिस्पर्धा


 


काठमाडौँ, कात्तिक ५
नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको उम्मेदवारी दर्ताका आधारमा हेर्दा ती जिल्लाका केही निर्वाचन क्षेत्रमा मुलुकभरकै मतदातालाई आकर्षित गर्ने खालको प्रतिस्पर्धा हुने देखिएको हो ।

गोरखा क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धालाई आमरुपमा रोचक प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

नेकपा (माओवादी केन्द्र) परित्याग गरेका डा भट्टराई पछिल्लोपटक नेकपा (एमाले) र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा सहभागी थिए । गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा टिकट नपाएपछि नेपाली काँग्रेससँग चुनावी तालमेल गरेका भट्टराई र वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ विगतमा एकै पार्टीका नेताका रुपमा देखिन्थे ।

उम्मेदवारी दर्ता गराएपछि दुवै नेताले आफैँले नै निर्वाचनमा विजयी हुने दाबी गरेका छन् । डा भट्टराईले गोरखाको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताइरहँदा वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले गोरखाको जनमत सधैँ प्रगतिशील र परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित निश्चित रहेको बताए।

दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका भट्टराई र मकवानपुर क्षेत्र नं २ बाट पराजित श्रेष्ठ यसपटक एकै निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका हुन् ।

यस्तै ओखलढुंगाका दुई युवा नेता रामहरि खतिवडा र यज्ञराज सुनुवार यसपटक आमनेसामने भएका छन् । खतिवडा काँग्रेसका तर्फबाट उम्मेदवार छन् भने सुनुवार वाम गठबन्धनको संयुक्त उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।

उता सिन्धुपाल्चोक–२ मा पनि यस्तै रोचक प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनका संयुक्त उम्मेदरवार पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणा विगतमा जस्तै यसपटक पनि आमनेसामने भएका छन् ।

राणा संविधानसभाको दोस्रो निर्वाचनमा तामाङसँग पराजित भएका थिए । तर यसपटक तामाङ एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार छन् भने राणा काँग्रेससँगको चुनावी तालमेलपछि मैदानमा देखिएका छन्।

सोही जिल्लाको क्षेत्र नं १ मा वर्तमान सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत पनि चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै नुवाकोटमा पनि यसअघि दुईपटक सँगै चुनावी प्रतिस्पर्धा गरेका पूर्वअर्थमन्त्री डा रामशरण महत र हितबहादुर तामाङले तेस्रोपटक सँगै उम्मेदवारी दर्ता गराएका छन् ।

नुवाकोट क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धामा डा महत काँग्रेसका तर्फबाट उम्मेदवार भने भने तामाङ वाम गठबन्धनको साझा उम्मेदवार हुन् ।

नुवाकोट क्षेत्र नं २ मा काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी र एमालेका तर्फबाट उम्मेदवार रहेका नारायणप्रसाद खतिवडाको चुनावी प्रतिस्पर्धा पनि रोचकमध्येको एक हुने बताइन्छ ।

उता जाजरकोटमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र काँग्रेसका नेता राजीवविक्रम शाह, लमजुङमा वाम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ र काँग्रेसका उम्मेदवार दीलबहादुर घर्ती, पश्चिम रुकुममा विनाविभागीय मन्त्री जनार्दन शर्मा र लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशसभामा उस्तै हेभिवेट

संविधानअनुसार पहिलोपटक स्थापना हुन लागेको प्रदेश सभामा विगतमा दुई÷तीन पटक मन्त्री भइसकेका र राजनीतिमा ठूलै हैसियत बनाएका नेतासमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।

एमाले नेता राजेन्द्र पाण्डे प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् । धादिङ क्षेत्र नं १ (क) बाट उम्मेदवार बनेका पाण्डे २०४८ को प्रतिनिधिसभा र २०७० को दोस्रो संविधानसभाको सभासद्मा निर्वाचित भएका थिए।

सोही क्षेत्रबाट विगतमा प्रतिस्पर्धी रहेका पाण्डे र नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जमरकट्टल यसपटक प्रदेश सभामा उम्मेदवार छन् । विसं २०६४ को संविधान सभामा निर्वाचित सभासद् जमरकट्टेल धादिङ क्षेत्र नं १ (ख)बाट उम्मेदवार बनेका हुन् ।

यस्तै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही पनि प्रदेश सभा सदस्यको उम्मेदवार भएका छन् । कालीकोटबाट दोस्रो संविधान सभामा निर्वाचित शाही यसपटक कालीकोट (ख) बाट प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

एमालेका प्रभावशाली युवा नेता एंव पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राई भोजपुर (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका छन् ।

राईलाई प्रदेश नं १ मुख्य मन्त्रीको रुपमा हेरिएको छ । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका राईले मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभामा उम्मेदवारी दिएको बताइएको छ ।

उता भोजपुरकै (क) एमालेका केन्द्रिय सदस्य एंव अखिलका पूर्व अध्यक्ष चर्चित नेता राजेन्द्र राई पनि चुनावी मैदानमा उत्रिएका छन् ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही हुम्ला (ख), पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङ लम्जुङ (ख) बाट उम्मेदवार बनेका छन् । उनिहरु दुबै मुख्य मन्त्री बन्ने योजना साथ प्रदेश सभामा उम्मेदवारी दिएको स्रोत बताउँछ ।

पूर्वसभासद् नरेश भण्डारी जुम्ला (ख), २०५१ को प्रतिनिधि सभामा निर्वाचित सांसद दीपकजंग शाह पनि यसपटक जाजरकोट (ख) बाट उम्मेदवार बनेका छन् । राससको सहयोगमा

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्