समानुपातिकका लागि १ करोड १२ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, प्रत्यक्षको मतपत्र एक कि दुई ?


 


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अहिलेसम्म समानुपातिक तर्फका १ करोड १२ लाखभन्दा बढी मतपत्रको छपाई सकिएको बताएका छन् ।

आइतबार भएको ३२ जिल्लाको मनोनयनपछि भएको पत्रकार सम्मेललाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले करिब १ करोड ७४ लाखमध्ये सो संख्यामा छपाई सकिएको बताएका हुन् ।

प्रत्यक्षतर्फको मतपत्र छपाई बारे भने आयोगले सर्वोच्चको आदेशले अलमलमा परेको देखिएको छ । आयोगले यसबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न भन्दै सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
सर्वोच्चले दिएको आदेशबाट स्पष्ट हुन नसकेपछि आयोगले आवश्यक परामर्श र छलफलबाट निर्णय लिने भएको हो ।
त्यसैगरी आज ३२ जिल्लाका ३७ क्षेत्रको प्रतिनिधिसभा र ७४ क्षेत्रेको प्रदेशसभाका लागि शान्तिपूर्ण रुपमा उमेदवारी दर्ता भएको प्रमुख आयुक्त यादवले जानकारी दिएका छन् ।

प्रमुख आयुक्तको मन्तब्यको पूर्ण पाठ

१. २०७४ मंसिर १० गते हुने पहिलो चरणको ३२ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आज भएको उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण र राजनीतिक दलहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । यसबाट सार्वभौम संघीय संसद् र प्रदेशसभाको निर्माण प्रक्रिया सुरु भएको छ । शान्तिपूर्णरुपमा उम्मेदवारहरुको मनोनयन भएकोमा निर्वाचन आयोग सबै राजनीतिक दल तथा उम्मेदवाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो । उम्मेदवारी दर्ता गर्न आज ५ बजेभित्र सम्बन्धित निर्वाचन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएको छ । उम्मेदवारी दर्ता गर्दा महिला, दलित वा अल्पसङ््ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था गरिएको थियो । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नुहुने छ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको छ ।

२. प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ । राजनीतिक दलहरुले यही व्यवस्था अनुसार उम्मेदवारी दिनुभएको छ भन्ने विश्वास लिएको छ ।

३. आज उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्ुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजु्री जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।

४. उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू भएको जानकारी गराउन चाहन्छु । राजनीतिक दलको सहमतिको तयार गरिएको निर्वाचन आचारसंहिता सबै राजनीतिक दलका उम्मेदवारले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन मद्दत पु्¥याउनु हुने छ भन्ने आयोगले विश्वास लिएको छ । आयोगले आजै ७७ वटा जिल्लालाई लिखित निर्देशन दिँदै निर्वाचन चिन्ह अंकित टोपी, टि–शर्ट, गम्छाजस्ता साङ्केतिक सामग्रीहरू उत्पादन, विक्री वितरण र प्रदर्शन गर्न शख्त निषेध गरेको छ । उम्मेदवार तथा राजनीतिक दल तथा सबै निर्वाचनका सरोकारवालाहरुले निर्वाचन आचारसंहिता अनुकूलको व्यवहार गर्न र गराउनु आयोग हार्दिक आह्वान गर्दछ ।

५. राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्ह अंकित टोपी, टि–सर्ट, गम्छाजस्ता साङ्केतिक सामग्रीहरू व्यापकरुपमा उत्पादन तथा वितरण गर्न लागेको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा आयोगले त्यस्ता सामग्रीहरूको उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाइका साथ रोक लगाउन सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएको हो । आयोगको आदेश विपरीत निर्वाचन प्रचारप्रसारमा उपरोक्त सामग्रीहरू प्रयोग गरेको पाइएमा त्यस्ता अवैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गर्नसमेत आयोगले निर्देशन दिएको छ ।

 

६. समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ यही २०७४ असोज १७ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको जानकारी गराउँछु । समानुपातिकतर्फ एक करोड ७४ लाख मतपत्र छपाइ गर्नुपर्नेमा आजसम्म एक करोड १२ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । आज माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, माननीय आयुक्तहरु नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौडेलले मतपत्र छपाइ कार्यको अवलोकन गरिएको छ ।

 

असोज २९ गते प्रतिनिधिसभा र प्रदेशसभाको समानु्पातिकतर्फको बन्दसूची पेश गर्ने कार्य व्यापक सहभागिता र उत्साहका साथ सम्पन्न भएको यहाँहरुलाई अवगत नै छ । बन्द सूचीसच्चाउने लगायतको कार्य कात्तिक १२ गतेसम्म सम्पन्न हुने छ । आज पहिलो चरणको निर्वाचनको पहिलो हुने निर्वाचन हुने प्रणाली तर्फको मनोनयन दर्ताबाट नेपाल संविधान कार्यान्वयन गर्ने क्रममा थप अगाडि बढेका छौं । यस निर्वाचन अभियानलाई सफल पार्न सबै सञ्चारकर्मीलगायत सबै निर्वाचन सरोकारवालासँग समक्ष आयोग हार्दिक अनुरोध गर्दछ ।

 

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्