भोजपुरमा १२ दलका उम्मेदवारले मनोनयन दर्ता गराए, को–को छन् ? (सूचीसहित)


 


भोजपुर, कात्तिक ५
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

भोजपुरमा एमाले र माओवादीको वाम गठबन्धन बनेको छ भने कांग्रेस र संघीय समाजवादी फोरमको गठबन्धन बनेको छ ।

यहाँ एमाले, काङ्ग्रेस, माओवादी, संघिय समाजवादी फोरम, मंगोल नेशनल अर्गनाइजेशन, राजपा लगायत १२ दलका उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराँतीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै काङ्ग्रेस र संघिय समाजवादी फोरम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि उमेशजंग रायामाझीले उम्मेदवारी मनोनयन गराएका छन् ।

प्रदेश सभाका लागि वाम गठबन्धनबाट भोजपुर (क) मा एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै भोजपुर (ख) मा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै कांग्रेस गठबन्धनबाट (क) मा सघिय समाजवादी फोरमका केन्द्रिय सचिव अजम्वर राई काङमाङ र (ख) मा कांग्रेसका गोविन्दवहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइर्जेशनबाट चन्द्रप्रसाद राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेकपा मालेबाट अनिल बस्नेतले उम्मेदवारी दिएका छन् ।

नयाँ शक्ति पार्टी नेपालबाट युवराज कट्वाल, राजपाबाट ध्रुवराज राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट केदार राई मेवाहाङ, नेकपा क्रान्तिकारी माओवादीबाट डिल्लिराम बोहोराले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश सभाका लागि भोजपुर (क) बाट स्वतन्त्र उमेदवारमा खुसीराज गुरुङ्गले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले जानकारी दिए ।

प्रदेश सभा (क) मा मंगोल नेशनल अर्गनाइर्जेशनबाट मोजेश राई, देशभक्त जनजागरण मोर्चाबाट आङडेण्डी शेर्पा, जनसमाजवादी पार्टी नेपालबाट पर्शुराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उत्तम राई र राजपाबाट सुवास राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै भोजपुर (ख) बाट संघीय खम्बुवान लोकतान्त्रि पार्टी नेपालबाट सुवास राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डिकबहादुर राई, देशभक्त जनजागरण मोर्चाबाट देवप्रसाद राई र मालेबाट यादव पाण्डेले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

भोजपुरमा प्रतिनिधि सभाका लागि एक सिट र प्रदेश सभाका लागि दुई सिट छ ।

आज मनोनयन दर्ता गराएका उम्मेदवाहरुको अन्तिम नामावली कात्तिक ८ गते प्रकाशन गर्ने निर्वाचन कार्य तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसबीचमा उम्मेदवार उपर उजूरी, उजूरी जाँचबुझ, नाम फिर्ता लगायतका कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्