अलैंची कृषकका पीडा : न दाम, न रोगको पहिचान


 


आठराई (तेह्रथुम), कात्तिक २
लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् ।

शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका अध्यक्ष कृष्ण खनालले बताउनुभयोे ।

“३३ वर्ष भयो अलैँची खेती गर्न थालेको, दुई वर्ष भयो रोग देखापरेको तर पत्ता लगाउन सकिएन” खनालले भन्नुभयो । “जिल्ला कृषि विकास कार्यालयबाट पनि रोगको पहिचान हुन नसकेपछि धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्र पठाइयो त्यहाँबाट पनि रोग पत्ता लगाउन नसकेपछि अहिले भारत पठाएका छौँ” ।

यस क्षेत्रमा १५ जनाले १५० रोपनी जमिनमा अलैँची खेती गर्दै आएकामा रोगको पहिचान नभएपछि आजित भएको उनीहरूको दुखेसो छ ।
अघिल्लो वर्षमा प्रतिमन (४० केजी) एक लाख दश हजारसम्ममा बिक्री भएकोे अलैँची अहिले भने अन्तरराष्ट्रिय स्तरमा माग घटेपछि ३० हजारभन्दा माथि उक्लिएको छ्रैन ।

एकातिर बजार भाउ छैन अर्कोतिर रोगले बगान नै रित्तिने पिर थपिएको छ अध्यक्ष खनाल भन्नुहुन्छ, “राज्यबाट रोगको नाम र औषधि पत्ता लाग्न सके हामीलाई राहत मिल्ने थियो ।”

जिल्ला कृषि विकास कार्यलयका अलैँची बगान पुरानो भएको र पुराना अलैँची बोट मासेर नयाँ बिरुवा लगाउनुपर्ने प्रविधिक हरिगोपाल आचार्यले बताउनुभयो ।

अलैँचीको जरा, पातको पानी झर्ने भागभन्दा टाढा नजाने र चार इन्चभन्दा गहिराइमा नजाने भएको र मलजल गर्ने तरिकासम्बन्धी पर्याप्त ज्ञान कृषकमा नभएका कारण समस्या उत्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्