यसरी भयो भोजपुरमा वाम गठबन्धनको सिट भागबण्डा, को कुन क्षेत्रमा उठ्दैछन् ?


 


भोजपुर, कात्तिक ३
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोजपुरमा वाम गठबन्धनले सिट भागबण्डा टुंगो लगाएका छन् ।

वाम गठबन्धनको सिट बाँडफाँड कार्यदलले दिएको जानकारी अनुसार भोजपुरमा प्रतिनिधि सभा माओवादी केन्द्रले पाएको छ भने प्रदेश सभाका दुईवटै सिट एमालेले पाएको छ ।

भोजपुरमा प्रतिनिधि सभाका लागि एउटा र प्रदेश सभाका लागि दुईवटा सिट छन् । कार्यदलले भोजपुर लगायत पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँड गरेको हो ।

सिट बाँडफाँडसँगै अब कसले टिकट पाउँछ ? आम चासो बनेको छ । प्रतिनिधि सभाका लागि माओवादीले सिट पाएसँगै माओवादीबाट सुदन किराँती उम्मेदवार बन्ने लगभग पक्कापक्की भएको छ ।

वाम गठबन्धन हुनु अघि माओवादीले प्रतिनिधि सभाका लागि रमेश ओझाको नाम सिफारिस गरेको थियो भने किराँती प्रदेश सभा भोजपुर ‘ख’ बाट सिफारिस भएका थिए ।

एमालेबाट केन्द्रिय सदस्यद्वय जयन्ती राई र राजेन्द्र राई र पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाको नाम सिफारिस भएको थियो ।

प्रदेश सभा अन्र्तगत भोजपुर ‘ख’ बाट एमाले पोलिटब्यूरो सदस्य एंव पूर्व सञ्चार मन्त्री शेरधन राई उठ्ने भएका छन् । प्रदेश नं १ को भावी मुख्य मन्त्रीको रुपमा हेरिएका र प्रमुख दाबेदार मध्येका एक राई भोजपुर ‘ख’ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

प्रदेश सभा अन्र्तगत भोजपुर ‘क’ मा एमालेबाट टिकट फाइनल हुन बाँकी छ । सम्भवत केही समयपछि टिकट पाउने उम्मेदवारको टुंगो लाग्ने छ । यहाँ एमाले केन्द्रिय सदस्य राजेन्द्र राई र बैकल्पिक केन्द्रिय सदस्य हरिबहादुर राईको चर्चा छ ।

यहाँ प्रदेश सभाका लागि जिल्ला कमिटी बैठकबाट केन्द्रिय सदस्य हरिबहादुर राई, जिल्ला पार्टी उपाध्यक्ष देवीराम चौलागाँइ, प्रदेश कमिटी सदस्य बिष्णु कुमार राई, पार्टी सचिव शरण कुमार राई र अखिल सचिव मक्करबहादुर खड्का सिफारिस भएका थिए ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्