संघीयतामा देश : कुन प्रदेशमा कति संख्याको मन्त्रिपरिषद बन्दैछ ?


 


काठमाडौं, कात्तिक ३
नयाँ संविधानबमोजिम केन्द्रमा बढीमा २५ जनामात्र मन्त्री हुने व्यवस्था छ । तर, प्रदेशहरुमा भने फरक फरक संख्याका मन्त्रिपरिषद् हुन्छन् ।

प्रदेश नम्बर १ मा १८ सदस्यीय, २ मा २१ सदस्यीय, प्रदेश नम्बर ३ मा २४ सदस्यीय मन्त्रिपरिषद् हुने भएको छ । प्रदेश नम्बर ४ मा १२ जना मन्त्री बन्न सक्नेछन्, प्रदेश नम्बर ५ मा १७ प्रदेश नम्बर ६ मा ८ जना, प्रदेश नम्बर ७ मा १० जना मन्त्री नियुक्त गर्न सकिनेछ ।

सबै प्रदेशलाई जोडेर अब नेपालमा १ सय १० जना मन्त्री बन्न सक्नेछन् । एउटा प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री राख्ने व्यवस्थाका कारण ठूलो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

संविधानको धारा १ सय ६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा प्रदेशसभामा सदस्य रहने व्यवस्था छ ।
यसैगरी प्रदेशसभामा कायम हुने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन आउने सदस्य रहने व्यवस्था छ ।

प्रदेश नम्बर १

जसबाट प्रदेश नम्बर १ मा समानुपातिकतर्फ ३७ सदस्य आउनेछन् भने प्रत्यक्ष र समानुपातिक गरी ९३ सदस्य आउँछन् । जसबाट यस प्रदेशमा १८ जना मन्त्री बनाउन सकिनेछ ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा १ सय ७ सदस्य रहेकाले २१ जनासम्म मन्त्री बन्न सक्ने भएका हुन् । प्रदेश नम्बर २ मा प्रतिनिधिसभामा ३२ वटा निर्वाचन क्षेत्र छन् जसबमोजिम प्रदेशसभामा ६४ निर्वाचन क्षेत्र हुने हुँदा समानुपातिकतर्फ ४३ सदस्य ल्याउनुपर्ने हुन्छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा प्रतिनिधिसभाका लागि ३३ निर्वाचन क्षेत्र छन् । कुल सदस्य संख्या १ सय १० हुने भएकाले २४ जना मन्त्री बनाउन सकिनेछ ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १८ छन् भने प्रदेशसभा निर्वाचन क्षेत्र ३६ रहनेछन् । प्रदेशसभाको समानुपातिक सदस्य २४ जना हुनेछन् । कुल ६० सदस्यीय हुने प्रदेश नम्बर ४ मा १२ जना मन्त्री बन्न सक्नेछन् ।

प्रदेश नम्बर ५

प्रतिनिधिसभाका लागि प्रदेश नम्बर ५ मा २६ निर्वाचन क्षेत्र छन् । जसबाट प्रदेशसभा निर्वाचन क्षेत्र ५२ हुनेछन् । प्रदेशसभामा समानुपातिकतर्फ ३५ जना सदस्य निर्वाचित गर्नुपर्ने भएकाले सभाको कुल सदस्य संख्या ८७ सदस्यीय हुनेछ । यो प्रदेशमा १७ जना मन्त्री बन्न सक्नेछन् ।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा प्रतिनिधिसभाका लागि १२ निर्वाचन क्षेत्र छन् । प्रदेश सभामा २४ निर्वाचन क्षेत्र हुनेछन् । समानुपातिकतर्फ १६ सदस्य ल्याउनुपर्ने हुँदा कुल सदस्य संख्या ४० हुनेछ । यस प्रदेशमा ८ जना मन्त्री मात्र बन्न सक्नेछन् ।

प्रदेश नम्बर ७

त्यस्तै प्रदेश नम्बर ७ को प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र १६ तोकिएको छ । जसबाट प्रदेशसभामा निर्वाचन क्षेत्र ३२ हुनेछन् । समानुपातिकबाट प्रदेशसभामा २१ सिट प्राप्त हुनेछ । जसबमोजिम प्रादेशिक संसद् ५३ सदस्यीय हुन जानेछ । यस प्रदेशमा १० जना मन्त्री नियुक्त गर्न सकिनेछ ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्