प्रदेश नं ७ मा वाम गठबन्धनले, प्रदेश नं ६ मा कांग्रेसले मुख्यमन्त्री तोक्यो


 


काठमाडौं, कात्तिक ३
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु उम्मेदवार चयन गर्न व्यस्त छन् । पहिलो चरण अन्र्तगत मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार अर्थात कात्तिक ५ गते उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।

निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । वाम गठबन्धनबाट प्रदेश नं ७ मा एमाले पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा मुख्यमन्त्रीको रुपमा अगाडि बढेका छन् ।

थापा यो प्रदेशमा वाम गठबन्धनबाट बहुमत आए मुख्यमन्त्री हुने स्रोतको दाबी छ । यहाँ एमाले र माओवादीका बरिष्ठ नेताहरु प्रतिनिधि सभामा उठ्ने भएपछि थापालाई मुख्यमन्त्री बन्न बाटो खुल्ला भएको हो ।

प्रदेश नं ७ का प्रभावशाली एमाले नेता एंव प्रदेश संयोजक भिम रावल प्रतिनिधि सभामा उठ्ने भएपछि थापालाई अगाडि सारिएको हो । त्यस्तै माओवादीका प्रभावशाली नेता पनि प्रतिनिधि सभामा नै उठ्ने भएका छन् ।

एमालेको प्रदेश नं ७ का सह संयोजक रहेका थापा पूर्व उद्योगमन्त्री हुन् भने उनले बाजुराबाट चुनाव जितेका थिए । थापा प्रदेश सभामा समानुपातिकका उम्मेदवार हुन् । प्रदेश नं ७ मा ९ वटा जिल्ला छन् ।

यसैबिच प्रदेश नं ६ मा कांग्रेसले जीवनबहादुर शाहीलाई अगाडि सारेको छ । मुख्यमन्त्रीका लागि कांग्रेसबाट शाही सर्वसम्मत बनेका हुन् । प्रदेश नं ६ को प्रदेश सभामा शाही नै कांग्रेसका हेभिवेट उम्मेदवार हुन् ।

यस क्षेत्रका अन्य हेभिवेट कांग्रेस नेताहरु प्रतिनिधि सभामा उठ्ने भएपछि शाहीका लागि बाटो खुल्ला भएको हो । शाहीको नाम हुम्ला २ बाट प्रदेश सभाका लागि सर्वसम्मत सिफारिस समेत भएको थियो ।

शाही प्रदेश न ६ को मुख्यमन्त्री बन्ने योजनामा रहेको बताउँछन् । शाही प्रचण्ड नेतृत्वको सरकारको पालामा पर्यटन मन्त्री थिए । प्रदेश नं ६ मा १० वटा जिल्ला छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्