मालेका २१ केन्द्रिय सदस्य एमालेमा प्रवेश, सिपी मैनालीको बिजोग


 


काठमाडौँ, कात्तिक २

नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु अइन्द्रसुन्दर नेम्वाङ र गंगा चौधरी, पोलिटब्युरो सदस्यहरु पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरु तथा नेताहरु रोहित केसी, इन्द्रकुमार झा र प्रेम दाहाललगायत एमालेमा प्रवेश गर्नुभएको हो । यस्तै मालेका ३५ जिल्लाका पार्टी सचिव र जनसंगठनका नेता पनि प्रवेश गरेका छन् ।

उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङ र पोलिटब्युरो सदस्य विष्णु रिमाल लगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब फरक फरक र सानातिना पसल थाप्नु आवश्यक छै, एउटै र ठूलो पसल भए पुग्छ, पुरानो इञ्जिन बोकेर पनि कम्युनिष्ट आन्दोलन चल्दैन ।”

एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी गठनबन्धन र एकताको पहलको घोषणा गरेपछि मालेका यति धेरै संख्याका नेता पहिलो पटक एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेता विश्वासका अनुसार मालेबाट कूल २७ जना केन्द्रीय सदस्यले एमालेमा आउने तयारीमा रहेकामा आज छुटेका छजनासहित अन्य नेता कार्यकर्ता चाँडै एमालेमा आउनेछन् । हाल मालेमा ५७ केन्द्रीय सदस्य छन् ।

विश्वासले मालेका महासचिव मैनालीलाई राष्ट्रवादी नेताका रुपमा सम्मान गर्दै वाम ध्रुवीकरणमा लाग्न पुनः आग्रह गरिने बताउनुभयो ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्