यसरी बाँडे प्रदेश नं ७ मा एमाले र माओवादीले सिट बाँडफाँड


 


काठमाडौं, कात्तिक २
एमाले र माओवादीको संयुक्त गठबन्धनले प्रदेश नं ७ का लागि सिट बाँडफाँड टुंग्याएका छन् । प्रदेश नं ७ मा ९ वटा जिल्ला छन् भने प्रतिनिधि सभाका लागि १६ वटा निर्वाचन क्षेत्र कायम भएको छ ।

क्षेत्र र सिट बाँडफाँडको कार्यदलमा रहेका नेताका अनुसार एमालेले प्रदेश नं ७ मा ११ वटा सिट पाएको छ भने माओवादी केन्द्रले ५ सिट पाएको छ । त्यस्तै प्रदेश सभाका लागि ३२ वटा क्षेत्र मध्ये माओवादीले पाएको छ भने २१ वटा एमालेको भागमा परेको छ ।

माओवादीले कैलालीमा २ सिट पाएको छ । यहाँ पाँच सिट रहेका छन् । कैलालीको ३ र ४ नम्बर निर्वाचन क्षेत्र माओवादीले पाएको हो ।

बाँकी निर्वाचन क्षेत्र एमालले पाएको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा एमालेले २ र माओवादीले १ निर्वाचन क्षेत्रको बाँडफाँड मिलाएका छन् ।

एमाले र माओवादीबीच भएको तालमेलको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा माओवादीले पाउने भएको छ । सो क्षेत्रबाट माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्ने बताइएको छ ।

त्यस्तै माओवादीले अछाममा एउटा क्षेत्र पाएको छ । बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा प्रतिनिधिसभातर्फको सिट एमालेले पाउने भएको छ । यी सबै जिल्लामा प्रतिनिधिसभा एक सिट मात्र छन्।

दुई निर्वाचन क्षेत्र रहेको अछाम एमालेले पाएको छ । अछामको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावल उम्मेदवार उठ्ने भएका छन् ।

प्रदेशमा यसरी मिल्यो कुरा

७ नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये एमालेले २० र माओवादीले १२ सिट पाउने भएका छन् ।

माओवादीले कैलालीमा प्रदेशसभाका १० सिटमध्ये ३ ,कञ्चनपुरमा ६ मध्ये २ सिट पाउनेछ । त्यस्तै डडेलधुरा, डोटी, बैतडी, दार्चुला, अछाम र बझाङमा पनि एक(एक सिट पाउने समझदारी भएको छ ।

एमालेले कैलालीमा ७, कञ्चनपुरमा ३ सिट पाउने भएको छ । एमालेले बैतडी, दार्चुला, डोटी, बझाङ र डडेलधुरामा एक(एक सिट पाउने छ भने अछाममा ३ र बाजुरामा २ सिट पाउने भएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्