प्रहरीको इमान्दारीता, जसले बेवारिसे अवस्थामा भेटेको सुनका गरगहना बुझाए
बैतडी, कात्तिक २
सीमा प्रहरी चौकी, झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी सम्बन्धित मान्छेलाई बुझाइएको छ ।
मंगलबार गस्तीमा रहेको प्रहरीले साँझ ७ बजेतिर नेपाल—भारत सीमाबजार झुलाघाट नजिक रहेको मौरा बसपार्कको यात्रु प्रतिक्षालयमा भेटिएको बेवारिसे झोलामा साढे पाँच तोला सुनका गरगहनासँगै रहेको लत्ताकपडा दशरथचन्द नगरपालिका–१० बाराकोटका नरेन्द्र बुडाल र उहाँकी श्रीमती ज्योति बुडाललाई बुझाइएको हो ।
बेवारिसे अवस्थामा भेटिएको झोलामा नरेन्द्र बुडालको परिचय खुल्ने मुम्बई इन्टरनेशनल एयरपार्ट पेसेन्जर सर्विस एजेन्ट उल्लेख गरेको परिचयपत्र भेटिएपछि बेवारिसे झोला उहाँको रहेको थाहा हुन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “झोलामा परिचयपत्र भेटिएकाले सम्बन्धित मान्छेलाई सम्पर्क गरी बुझाइएको हो ।”
उक्त झोलामा एकथान हार सेट, मंगलशुत्र दुई थान, कानको टप दुई थान र आँैठी दुई थान रहेका थिए । परिवारसँगै तिहार मनाउन भारतबाट घर आएका बुडालको उक्त झोला बसपार्कमा छुट्न गएको हो । गरगहनासहित हराएको झोला प्रहरीले फेला पार्दा प्रहरीले कर्तव्य पूरा गरेर सामान फिर्ता गरेको भन्दै बुडालले प्रहरीलाई धन्यवाद दिएका छन् ।
पटाका बरामद
यसैबीच, सीमा प्रहरी चौकी झुलाघाटले बुधबार चेकजाँच गर्ने क्रममा नेपाल—भारत सीमा नाका झुलाघाटको झोलुंगे पुलमा विभिन्न व्यक्तिले लुकाइछिपाइ नेपाल भित्र्याउँदै गरेका पटाका बरामद गरेको छ ।
बरामद गरिएको पटाकामा मुर्गाछाप पटाका १९९ थान, गैँडा छाप पटाका १३ दर्जन, बम पटाका चार दर्जन र झिरझिरे ३७ पाकेट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो ।
बरामद गरिएका पटाकालाई बुधबार स्थानीय प्रशासन र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । बैतडी प्रहरीले तिहारलाई लक्षित गर्दै नेपाल—भारत सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै पटाका आयातमा रोक लगाएको छ ।
यसका साथै पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसारपसार गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने समेत उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार