भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु


 


भक्तपुर,  कात्तिक १

यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ ।

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट शुरु भएको हो ।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रा.लि.सँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन् ।

कार्यालय प्रमुख अनोज घिमिरेले भक्तपुरबाटै दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडाँै जानु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गत शनिवारबाट भक्तपुरबाटै दुईपाङ्ग्रे र आजबाट चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिन शुरु गरेका छौँ, अब ट्रायल परीक्षा दिन काठमाडाँैमा जानु पर्दैन ।”

आज पहिलो दिन २५२ जनाले चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्