नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने विजुक्छेको दाबी


 


भक्तपुर, कात्तिक १
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो दललाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न ‘थ्रेसहोल्ड’ लगाएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो–“थ्रेसहोल्डको आतंकले नेमकिपालाई जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको हाम्रो पार्टीले जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ ।”
विजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

सरकराले ख्वपः विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै विजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्यहरु सुनिल प्रजापति, डिल्लीप्रसाद काफ्ले, कृष्णकुमार वैद्य, नारायण महर्जन, अनुराधा थापामगरलगायतले भारतको इसारामा बाम तथा लोकतान्त्रिक गठबन्धन भएको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्