देउवाले कसलाई कुन मन्त्री बनाउँदैछन्, यस्तो छ तयारी


 


काठमाडौं, असोज ३१
माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुर्नगठनको तयारी थालेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेका छन् ।

माओवादीले उपप्रधानमन्त्री सहित आठ वटा मन्त्रालय लिएको थियो । माओवादीले एमालेसँग वाम गठबन्धन बनाएपछि देउवा माओवादी केन्द्र र उसका मन्त्रीहरुसँग रुष्ट बनेका थिए ।

देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेसँगै उनिहरुले राजिनामा दिन लागेका छन् । देउवालाई माओवादी मन्त्री हटाउन वा विनाविभागीय बनाउन प्रेसर थियो ।

प्रधानमन्त्रीको तयारी बुझेका माओवादी मन्त्रीहरुले देउवाले कदम चाल्नु अघि नै राजिनामा दिएर मार्ग प्रशस्त गर्न लागेका हुन् । यसका लागि देउवाले आइतबार नै कमल थापालाई उपप्रधानमन्त्री दिएर सरकारमा सामेल गराइसकेका छन् ।

उनले राप्रपाबाट तीनजना मन्त्रीलाई विनाविभागीयको जिम्मेवारी दिएर जगेडामा राखेका छन् । यीनै जगेडामा रहेका मन्त्रीहरु सहित देउवाले आजै मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

माओवादीले उपप्रधान सहित, परराष्ट्र गृह, स्वास्थ्य, उर्जा, सहरी विकास लगायतका मन्त्रालय लिएको थियो । प्रधानमन्त्री देउवाले गृह मन्त्री बनाउन अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रस्ताव गरेका छन् । तर काकीले गृह मन्त्री बन्न खासै इच्छा देखाएका छैनन् ।

कार्की गृह मन्त्री नबने देउवाले हिजो मात्र कांग्रेस प्रवेश गरेका फोरम लोकतान्त्रिका पुर्व अध्यक्ष विजय गच्छदारलाई गृह मन्त्री बनाउने स्रोतको दाबी छ । त्यस्तै कमल थापालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारीमा देउवा रहेको बताइन्छ ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्