कथा : बर्खेली जेठोको तिहार


 


झम्के साँझ ओर्लिँदै गर्दा बर्खेली जेठा सिकुवामा तेर्स्याएको खटियामा पलेटी कसेर बसेका छन्। सुर्ती र चुना उनको देब्रे हातको हत्केला र दाहिने हातको बुढी औँलाको बिचमा मडारिन थालेको कतिबेला देखि हो बिर्सिसके उनले, सुर्ती र चुना मडारिएको भन्दा धेरै उनको मन हुँडुलिरहेको छ हिजो आज।

बर्खेली जेठा अर्थात बर्खेली बा का तीन भाइ छोरा मध्येका जेठा। बर्खेली बा भनेर दस गाउँ चिनिएका उनी चोला उठेर जाने बेला सम्ममा बम बहादुर उनको नाम भनेर सम्झिने सायद उनी एक्लै थिए होलान् ।

बर्खेली बा कहलिएका डकर्मी थिए। गाउँमा ट्र्याक्टर आईपुग्नु अघि सम्म जिर्ण देखिदै भए नि ठडिएका तीन धुरे र घुमाउने घरहरु बर्खेली बा कै डिजाईनमा बनेकाहरु थिए। पछिल्लो पाँच बर्षमा अरुणमा पक्की पुल लागेपछी गाउँमा ट्र्याक्टरहरु हिउँद बर्खा कुद्न थाले, गाउँका ती घुमाउने र तीन धुरे घरहरुले आफ्नो औचित्य प्रस्टयाउन सक्न छाडे। त्यसपछी भने केही आधुनिक खालका र टिनको छानाले छाएका घरहरुले गाउँ टिलिक्क भैसकेको छ।

बर्खेली जेठाले भने बाउले आफ्नै हातले बनाएको घर भत्काउन चाहेनन् या अर्को बनाउने हुति जुटाउन सकेनन् र अलिकती बार्दली निकालेर छानामा टिन थपे अनि कालिमाटोले रंग्याईएका झ्याल-ढोकाहरुमा ईनामेलले रंग्याए। त्यति परिबर्तन गरे।

बर्खेली बा हिउँदभरी घर बनाईहिँड्थे। बर्खेली आमै अलि रोगी थिईन्, बेलैमा धम्किको बिमारले भेटेको। चालीस कट्नै लाग्दा निक्कै च्यापिसकेको थियो । आमै चवालिस कटेर पैंतालीस बर्ष टेक्दै गर्दा बर्खेली जेठो १५ बर्षमा हिड्दै थिए।

माईलो भाइ १२ बर्ष र कान्छो १० बर्षमा। सबैको पढाइ तेज थियो। जेठाले त आफ्नो कक्षामा अरु साथिलाई सिकाउँछ नि भन्थे। बर्खेली आमैको पेटमा ढुंगा बसे जस्तो अररो भएको १५ दिन बित्दैथियो।

बा मंसिरमा थालेको सिमसारेको घर माघ भरिमा सक्नलाई हतारमा उतै बस्दै काम लगाईरहेका थिए। भएभरको पटुकाले बाँधेर राखे, चेप्टो ढुंगा तताएर लुगामाथिबाट सेके तर आमैको पेट बिसको उन्नाईस भएन। आखिर पेट ढुंगा जस्तो भएपछी पानी बाहेक अन्न पेटमा नपरेको १७ दिनमा आमैको चोला उठ्यो।

“तीन भाइ छोरा र लोग्ने पनि संगै हुँदा सास गयो, भाग्यमानी रैछिन” गाउँकाले कुरा गरे। आमा बितेपछी आमाको भार सबै जेठोको काँधमा आईपर्‍यो। घरपरिवार ब्यबस्थापन, व्यवहार मिलाउने देखि लिएर भाईहरुको अभिभावक। त्यो बेला उसलाई आभास भयो कि आमा एक्लैले त्यस्तो बिमार बोकेर पनि कसरी व्यवहार धानेकी रैछिन्।

बर्खेली बा त पहिला नि घर कमै बस्ने, कमाएको पैसा सबै जाहानलाई दिने, हिसाब किताब नि नचाहिने, आफुलाई चाहिए बरु फेरि मागेर बोक्ने, घरभित्र के कसो छ कसलाई, कहाँ, के खाँचो छ या के गर्नुपर्ने जस्ता बिषय आमैले कहिल्यै उनलाई सुनाउन परेन एक्लै सम्हाल्थिन्।

अब त झन जाहान नभएपछि बिरक्तिन थालेका थिए। घरमा कम पुग्ने, पैसा अलि फुर्मास गर्ने, भात कम खाने, जाँड रक्सीमा बढी रमाउने गर्न थाले। यता बर्खेली जेठाले भने घर व्यवहार र भाईहरुको हेरचाहरको कारण स्कुल गयलको क्रम निरन्तर थियो। बर्खा लाग्यो, खेतिपातिको याम आयो।

पहिला आमाले जस्तै जेठोले सबै कामहरुको तारतम्य मिलायो सकिनसकी। स्कुल पनि भ्याँउथ्यो बेला बेलामा तर भाईहरुलाई भने कुनै दिन गयल हुन दिएन। उनिहरुलाई आमा बाउको न्यास्रो लाग्न नदिन हर प्रयत्न गर्थ्यो ऊ।बर्खा सकियो, दशैँ तिहार चाडहरुको लस्कर लाग्यो। बेला बेलामा बाउले पैसा दिदै गरेकोले घर व्यवहार चल्दैथियो राम्रै गरि।

आमा बितेकोले त्यो बर्ष दशैँ तिहार सँधै जस्तो भएन तर बर्खेली बा भने रक्सिले नमातेको दिन भएन।हिउँद लागेपछी बर्खेली जेठो पनि बाउसंगै काममा हिँड्ने भयो। त्यतिबेला बर्खेली बा झस्किए। “अहिलेदेखी पच्छ्याईस भने तेरो जिन्दकी नि मेरै जस्तो हिलोसंग खेलेरै बित्छ। तैँले पढ्नुपर्छ। जति सक्छु मै गर्छु काम।”

दिलिप वान्तवा

“अहिले म काममा हिँडिन भने तिम्रा तिन्टै छोराको जिन्दगी माटो खेलार बित्छ। तर मैले काम गरेँ भने तिम्रा दुईटा छोराले त पढ्न पाउँछन् नि बाउ।” छोराको कुरा काट्न सकेनन्। उनलाई नि लाग्दैथियो अब उमेर ढल्दैछ, आँत गल्दैछ, सोँचेको र ताकेकोमा कहिँ पुग्न सक्न छाडियो भनेर। त्यसैले छोरालाई लिएर हिँड्न थाले यो हिउँददेखी। १५ पूरा गरि १६ बर्ष लाग्दै गरेको जेठो अब स्कुलामा परीक्षा दिन मात्र जाने भो। माघको सात पास परिक्षा दिए पछि स्कुल नजाने भयो।

किनकी गाउँको स्कुलमा त्यो भन्दा माथी थिएन। थप पढाईको लागि दुई घण्टा उकालो छिचोलेर पुग्नुपर्ने बुधबारे बजारमा थियो। अब ऊ पुरै कामकाजी भयो। छोरो संगै हिड्न थालेपछी बर्खेली बाको पनि रुटिन फेरियो। ठ्याक्कै समयमा घर फर्किने, समयमा काममा जाने, समयमा खाना खाने, रक्सी पनि ठिक्क मात्र खाने। यसो गर्दा बा पनि बिस्तारै तङ्रीन थाले।

अर्को बर्खे कामकाज पछि दशैँ तिहारको चटारो फेरि लाग्यो। तल्लाघर कान्छा काकाको दुई बहिनी छोरी मात्र। त्यसैले यो सालदेखी तिहारमा दाजुहरुलाई भाईटिका लगाईदिन्छु भन्न थालि ठुली बहिनिले। उ नौ बर्षकी र बहिनी छ बर्षकी छे। बर्खेली बा लाई पनि ठिकै लाग्यो। “यिनारको नि चेली भनन्, तेराहरका माईती भनन् यिनै चेली माईती भए अब।” बर्खेली बाले भाईलाई सम्झाए।त्यहिँ सालदेखी बर्खेली जेठाका तिनै जना दाजुभाईले काकाकी छोरिसंग भाईटिका लगाउन थालेका हुन्।

समय बितिरह्यो। बर्खेली जेठो अठार काटेर उन्नाईस बर्ष लाग्दैथियो। ऊ बाउ जस्तै राम्रो मिस्त्री भैसकेको थियो। बर्खेली बा पनि छोरोको सीप र पौरख देखेर मक्खै थिए। घरमा छोरी मान्छे नभएको जस्तो थिएन। पुरै घर व्यवहार जेठोले अति कुशलतापुर्वक चलाएको थियो। उता अस्ति घुमाउने टोलमा एउटा घर बनाउन जाँदा त्यहिँ तल्लो घरकी माईलिसित कतिखेर आँखा जुधेर आँखा आँखा मै कुरा गर्न थालेको पत्तै भएन जेठालाई। घर सकेर छाड्ने दिन आईसक्दा पो झस्कियो ऊ त।

किन त्यस्तो भयो आफैले जानेन। भोलिपल्ट बेलुकी गाग्री बोकेर पँधेरा जाँदै गरेकी माईलिलाई पछ्याएर गयो कसैले चाल नपाउने गरि, सायद माईलिले नि चाल पाईन कि। बाँसघारिमुनिको कुवामा पुग्नु अगाडि नै जेठोले माईलिलाई बोलायो, माईली तर्सी। गाग्री बिसाएर टुसुक्क बसि माईली अनि जेठो भित्तोमा अडेश लागेर लामो सास तान्यो र आफ्नो कुरा राख्यो।

मन हलुंगो भए जस्तो लाग्यो तर घाँटिमा केही कुरा अड्किराखेको महसुस भयो। माईली बोलिन, गाग्री टिपेर कुवातिर झरी। जेठोले कुरो बुझेन र पर्ख्यो त्यहिँ।फर्किँदा माईलिले भनी ,”तिमी कैले फर्किने ?” “अब दुई दिनमा।” “त्यसो भए भोलि भेट्म्ला।” त्यति भनेर माईली तेर्सो बाटो लागि। जेठो उकालो निस्कियो तर मन भने माईली कै गाग्रीभित्र छचल्किँदै उतै गैसकेको थियो।

घर सके संगै जिन्दगिको एउटा नयाँ उर्जा बोकेर बाउसंगै घर फर्क्यो बर्खेली जेठा। माईली पनि स्कुल टाढा भएर बांंकि पढाइ रोकेर बसेकी थिइन्। बाँसघारिमा भेटेको १५ महिनापछी एक साँझ जेठाले माईलो भाइ र गाउँका अरु दुईटा केटा लगेर माईलिलाई भगाएर ल्याए। घरमा काकाकी छोरी र कान्छो भान्से थिए भने बर्खेली बा तोङ्वा तान्दै पहिलो बुहारिलाई पर्खिदैथिए।

जेठोले बिहा गरेको अर्को साल माईलो भाइ ईन्डिया लाहुरे भयो जेठाको खुट्टा भुइँमा भएन। गाउँकाले घुटुक्क थुक निले। “दाजु भनेको त्यस्तो हुनुपर्छ।” बुढौलिहरुले केटाहरुलाई उदाहरण देखाए। माईलो लाहुरे भएको अर्को साल बर्खेली बा बाजे भए अर्थात जेठोको छोरी जन्मिई। त्यहिँ साल कान्छोले नि एस एल सि पास गर्‍यो। क्याम्पस पढ्न शहर जाने भो कान्छो।

सबै चाँजो माईलाले मिलाउने जिम्मा लियो। यता बर्खेली बा खोकिरहन्थे हिरिक्क हुन्जेल। जिन्दगिको धेरै हिउँद बर्खा घर बनाउँदा बित्यो, चिसो हावाले कति हिर्कायो टाउकोमा, बर्सातको पानी कति सोँसेर राख्यो जिउले उनलाई के हेक्का होस्। सायद तिनै चिज आज यसरी सन्किरहेका छन्।गाउँकै हेल्थ्पोस्टबाट औषधि त खाएका हुन तर निको हुने नामै छैन। जेठो भने बाउले झैँ घर बनाउदै हिड्ने पालो पायो।

नातिनी डेढ बर्षकी हुँदै गर्दा बर्खेलिले संसार त्यागे। सवै छोरा भेला भए। काकाकी ठुली छोरी र कान्छो भोलिपल्ट शहरबाट काकाले लिएर आए। उतैबाट माईलोलाई फोनमा काकाले खवर दिए। ऊ पनि चार दिनपछी आईपुग्यो। तीन दिने क्रीया सकेर सबै आ आफ्नो काममा लागे।

खाट अगाडि बाउले राम्रो बिट्टा निकालेर खोपेको थाममा आँखा पुग्दा बर्खेली जेठा झसंग झस्कियो। तीन दिन भयो आरा काटेर फिरेको।दशैँ सकेको भोलिपल्टै हिँडेको ऊ तिहार मनाउन आएको थियो। तर आएकै साँझ जाहानले बहिनिले भाईटिकामा बोलाईनन् भन्दा खङ्रङ्गै भएको थियो। माईला भाइको परिवारै धरान बस्न थालेको आठ बर्ष भएको थियो।

कान्छो भाइ लोकसेवामा खरदार पास गरेर सदरमुकामतिरै परिवार सारेको थियो भने भाईटिका लगाईदिने काकाकी जेठी छोरी पनि सदरमुकाममै बिहा गरेर गएकी थिइन्। अहिलेसम्म नछुटेको भाईटिकामा किन बोलाईन त भन्ने तर्कना मनमा खेलाउँदा खेलाउँदै मुख मै निस्किएछ, “कान्छा दाइ भाउजुले त्यत्रो दक्षिणा र कोसेली दिँदा ठुल्दाई र भाउजुले त के त्यो लाजै मर्दो देका हुन्। यो पाली त ठुल्दाईको परिवार लाई नबोलाउने फुलटिकामा।”

दशैँमा फर्किने बेलामा आमासंग बोल्दै गरेकी ठुलिलाई बन्चरो पुर्‍याउन जाँदा बर्खेली जेठिले सुनेकी थिइ। जेठालाई आफ्नो स्वभिमानमा कठोर धक्का लागेको महसुस गर्‍यो। जसलाई आफ्नो बहिनी भन्दा अरु नाफा घाटामा हिसाब गरिएन आज पैसामा तौलिएको देख्दा मन अमिलियो। उसलाई हात समातेर पढ्न लेख्न सिकाएको, औँला भाँची भाँची हिसाब गर्न सिकाएको कुराहरु आज आफैमाथी आत्मघाती तिर बनेर उनिएका थिए। घर बनाउने काम छाडेर निक्कै साल कोईलाखात धायो बर्खेली जेठाले।

त्यता पनि तीन साल अघिदेखी राम्रो नभएकोले अलि पर परको गाउँतिर आरा काट्ने काम गर्न थालेको थियो। तिहारमा बहिनिकै लागि भनेर एक दिनभरी पैदल हिँडेर आएको ऊ यिनै बिगतलाई सम्झेर खाटमा बसेको थियो।बर्खेली जेठिले डबुकामा जाँड ल्याईदिईन्। जाँड सिध्याउनै लाग्दा छोरा छोरी दुईटै देउसी क्लबको गाउँ घुम्ने नाच सकेर आईपुगे।

चौध बर्ष टेकेकी छोरी भन्दा दुई साल भाइ हो छोरो। उनिहरु अब बेलुकी फेरि भट्याउँदै देउसी खेल्न जाने सुरसार गर्दैथिए। बर्खेली जेठा ओच्छ्यान फिँजाएर ढल्कियो। जाहान दिउँसो धोईपखाली गरेका सामानहरु सिँगार्दै पुजा गर्ने तरखरमा लागि।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्