कर कार्यालयमा कर्मचारी अभाव,सेवाग्राही मर्कामा


 


काठमाडौँ, असोज ३०

वार्षिक रु तीन खर्ब कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन ।
कर्मचारी नहँुदा करदाता सेवा कार्यालयमा कर तिर्न जाँदा सेवाग्राहीले दुःख पाउने गरेका छन् । विभागले करदातामैत्री सेवा दिएको दाबी गरे पनि सेवाग्राहीले भने कर तिर्न जाँदा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारी नभएर सास्ती खेप्नुपरेको छ ।
आयकर बुझाउन करदाता सेवा कार्यालय चावहिल जाँदा बैंक भौचर भरेर आय करसम्बन्धी विवरण कम्प्युटरमा प्रवेश गराउने ठाउँमा कर्मचारी नराखी सेवाग्राहीले नै भर्नुपर्ने व्यवस्था गरिएकाले दिनभर झन्झट व्यहोर्नु परेको चावहिलका रमेश दाहालले बताउनुभयो ।

विभागले ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ नाराका साथ कर उठाइरहेको छ । तथ्यांक प्रवेश (डाटा इन्ट्री) गराउने कम्प्युटरमा कर्मचारीको व्यवस्था छैन भने कर्मचारी राखिएको ठाउँमा पनि नबस्दा सेवाग्राहीलाई असजिलो हुने गरेको छ ।

विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेल देशभर कर उठाउने कार्यालयमा करको तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था नगरिएको बताउनुहुन्छ । “कर अनलाइनबाट बुझाउन सकिने भएकाले र प्रविधिमा पनि एड्भान्स्ड रुपमा गइसकेकाले कर्मचारीको व्यवस्था नगरिएको हो, नजान्नेलाई सिकाउन सहयोग कक्षको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

गत आवमा रु दुई खर्ब ५८ अर्ब कर उठाएको विभागले चालू आवमा रु तीन खर्ब उठाउने लक्ष्य राखेको छ । विभागले ४९ कार्यालयमार्फत कर संकलन गरिरहेको छ । देशभर २२ आन्तरिक राजश्व कार्यालय र २६ करदाता सेवा कार्यालय छन् । सेवा कार्यालयमध्ये १३ उपत्यकामा तथा १३ उपत्यका बाहिर छन् । रासस

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्