तानसेनको मदनपोखराबाट दुई करोडको तरकारी निर्यात


 


पाल्पा,  असोज ३० ।

परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ ।

मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आव २०७३÷७४ मा रु दुई करोडकोे तरकारी जिल्ला बाहिर निर्यात भएको छ । मदनपोखराको तरकारी स्याङ्जा, कास्की, रुपन्देहीसम्म निर्यात हुँदै आएपछि किसान खुशी छन् ।

परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रमा करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो । व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले रु डेढ लाखदेखि आठ लाखसम्म आम्दानी लिन सफल भएको किसान बताउँछन् ।

मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज पौडेलले तरकारीको बीउ, प्राविधिक सहयोग, ऋण र तरकारीको बजार व्यवस्थापन गर्न थालेपछि तरकारी उत्पादन गर्नेको संख्या वर्षेनी बढेको हो । तानसेन नगरपालिकाको मदनपोखरा क्षेत्रबाट ठूलो मात्रामा तरकारी उत्पादन हँुदै आएपछि अहिले तानसेन नगरपालिकाको वडा नं ६, ७ र ९ का स्थानीय बासिन्दासमेत व्यावसायिक तरकारीखेतीप्रति आकर्षित हुन थालेका छन् ।

परम्परागत मकैखेती छाडेर व्यावसायिक रुपमा बन्दा गोपी, गोलभेँडा, खुर्सानी, मुला र भान्टाखेती गर्न थाले पछि कृषक राम्रो आम्दानी लिन सफल छन् । रासस

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्