विराटनगर महानगरमा छाडा चौपाया नियन्त्रण अभियान शुरु


 


विरानगर, असोज ३० ।

विराटनगर महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।
सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालान गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने गरिएको छ ।
असोज ४ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको महानगरपालिकाले जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ । विराटनगर महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने गरेको छ ।
विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको कारण नगरमा सवारी दुर्घटना बढेको थियो । यसरी नियन्त्रणमा लिएका छाडा चौपायालाई वडा समितिको सिफारिसमा खसीबाख्रालाई रु २५० तथा गाईवस्तुलाई रु ५०० जरिवाना लिएर छाड्ने गरिएको छ भने पटकेलाई रु एक हजार जरिवाना लिने गरेको महानगरपालिकाले जनाएको छ ।

हालसम्म छाडा छोडिएका ३२ वटा गाई बाछा तथा २८ वटा खसी बाख्रा नियन्त्रणमा लिएको महानगरपालिकाका नगर सहायक निरीक्षक रेवत दुलालले बताउनुभयो ।
महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमी आएको छ । रासस

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्