माओवादी केन्द्रले बुझाएको समानुपातिक सूचीमा कसको कति प्रतिनिधित्व ?
काठमाडौँ, असोज २९
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिइन ।
“संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बुझाइएको छ”, उनले भनिन्, “संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ ।”
प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन् ।
यस्तै सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।
संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरिएको उनले बताइन ।
संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको प्रवक्ता भुसालले जानकारी दिइन । रासस
प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार