मन्त्रीमण्डल बिस्तार र हेरफेरले निर्वाचनलाई असर नगरोस् : आयोग


 


काठमाडौं, २८ असोज

निर्वाचन आयोगले सरकारले शुक्रबार गरेको मन्त्रिमण्डल बिस्तारले निर्वाचनलाई प्रभावित नपार्न आग्रह गरेको छ ।

शनिबार आयोगले जारी गरेको विज्ञप्तीमा आगामी निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो ।
आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकार हेरफेर वा मन्त्रिमण्डलका सदस्यहरूको थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगरी नगराई तोकिएको मितिमा निर्वाचन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।


‘‘मिति २०७४।०६।२७ गतेका दिन निर्वाचनको समग्र तयारीको जानकारीका सम्बन्धमा आयोगले आयोजना गरेको कार्यक्रममा उपस्थित हुनु भएका सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरू, विभिन्न राजनीतिक दलका अध्यक्षज्यू लगायत शीर्षस्थ नेताज्यूहरूले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन गर्नु भएको प्रतिबद्धताका लागि आयोग खुशी ब्यक्त गर्दछ ।

साथै, मुलुकको वर्तमान परिवेशमा, आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकार हेरफेर वा मन्त्रिमण्डलका सदस्यहरूको थपघट लगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगरी नगराई तोकिएकै मितिमा निर्वाचन गर्न गराउन र निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सृजना गर्न आयोगले नेपाल सरकार, राजनीतिक दलहरू लगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँछ ।’’ आयोगको शनिबारको निर्णयमा भनिएको छ ।

 

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्