नवलपरासीका दुवै जिल्ला समन्वय समितिमा काँग्रेस विजयी


 


नवलपरासी, २८ असोज
हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा काँग्रेस विजय भएको छ भने प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो ।

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा काँग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा काँग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन् । सदस्यहरूमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् ।

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

नवलपरासी पूर्वी जिल्लामा काँग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा काँग्रेसलाई बहुमत पु¥याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो ।

पश्चिम जिल्लाको जिसस प्रमुखमा काँग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय हनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्