प्रदेश प्रमुखले कति तलब भत्ता पाउने भए ? यस्तो छ सेवा सुविधा


 


काठमाडौं, असोज २८
व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ ।

संसदबाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपियाँ हुनेछ । यस्तै, पोशाक सुविधा वार्षिक १८ हजार रुपियाँ तथा अतिथि सत्कार खर्च ४० हजार रुपियाँ हुनेछ ।

चाडपर्व खर्चका रूपमा थप एक महिनाको रकम प्रदेश प्रमुखले वार्षिक रूपमा पाउनेछन् । यसरी मासिक सेवा सुविधा एक लाख चार हजार रुपियाँ हुनेछ । प्रदेश प्रमुखको बिमा लगायतको व्यवस्था प्रदेश सरकारले गर्नेछ ।

यस्तै, प्रदेश प्रमुखले १२ सदस्यीयसम्म सचिवालय बनाउन सक्नेछन् । विधेयक पारितसँगै प्रमुख स्वकीय सचिवसहित १२ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

सचिवालयमा सह–स्वकीय सचिव, उपस्वकीय सचिवको पनि व्यवस्था छ । यस्तै फोटोग्राफर, कम्प्युटर अपरेटर, प्रशासन तथा लेखा सहायकको पनि व्यवस्था हुने आजको गोरखापत्र दैनिकमा खबर छ ।

सवारी चालक र कार्यालय सहयोगीको व्यवस्था पनि सचिवालयमा रहनेछ । यस्तै प्रदेश प्रमुखको दैनिक भ्रमण भत्ता पनि विधेयकले तोकेको छ ।

विधेयक अनुसार स्वदेशमा हुने दैनिक भ्रमण भत्ता तीन हजार रुपियाँ तोकिएको छ । विदेशमा दैनिक २५० डलर तोकिएको छ । युरोप, अस्ट्रेलिया तथा अमेरिका भ्रमणमा तोकिएको रकममा ३३ प्रतिशत थप हुनेछ ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्