राष्ट्रपतिले मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने


 


काठमाडौँ, असोज २७
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरूलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गर्नुभएको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।

कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रासस

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्