निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सिमा, अब कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?


 


काठमाडौँ, असोज २७
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ ।

आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनतर्फ मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आयोगका अनुसार, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन् ।

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्