संसदको अन्तिम बैठक आज


 


काठमाडौं, असोज २७

२०७० को निर्वाचनपछि गठित संविधानसभा र संविधान जारीपछि रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ ।

समानुपातिकतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले आज बस्ने  नै संसद्को बैठक अन्त्य गर्न लागिएको हो । संविधान जारी गरेको एतिहासिक संसद्को यसपटकको पहिलो बैठक २०७० माघ ७ गते सुरु भएको थियो भने आयु पनि २०७४ माघ ७ लाई भनिएको थियो।

तर, मंसिरमै निर्वाचन हुने भएपछि निर्वाचन कानुनअनुसार मनोनयन भएपछि संसद विघटन हुने भएको हो ।  नेपालको संविधानको भाग ३३ अन्तर्गत रहेको संक्रमणकालिन व्यवस्थामा मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद् कायम रहने उल्लेख छ ।

“यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधान सभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसदमा स्वतः रुपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका–संसदको कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ,” संविधानको धारा २९६(१) मा भनिएको छ,“तर त्यस्तो कार्यकाल पूरा हुनु अगावै यस संविधान बमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहनेछ ।”

संसदको ४ वर्षे कार्यकालमा राष्ट्रपति, उपराष्ट्रपति, ४ जना प्रधानमन्त्री, सभामुख चयन भएका थिए ।

आज ३ बजे बोलाइएको बैठक अन्त्य गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्