एमाले अध्यक्ष ओलीको क्षेत्रमा कुन पार्टीको अवस्था कस्तो ?


 


काठमाडौं, असोज २७

अासन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु ध्रुविकरण हुँदै चुनावी मैदानमा उत्रिएका छन् । यो सँगै चुनावी माहोल र नतिजा आँकलनको बहस चलिरहेको छ । यसमा पनि शीर्ष नेताहरु चुनाव लड्ने तयारी गरेको क्षेत्रमा धेरैको ध्यान केन्द्रित हुने गर्दछ ।

यस्तै चर्चाको केन्द्रमा रहेको जिल्ला हो झापा । झापाबाट एमाले अध्यक्ष तथा बाम गठबन्धनका नेता केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला,  माओवादी नेता गोपाल किराँती तथा राप्रपा महामन्त्री राजेन्द्र लिंदेल चुनावी मैदानमा होमिने तयारी गरेका छन् ।

झापाको क्षेत्र नं  ५ बाट एमाले अध्यक्ष ओली उठ्ने तयारी गरेका छन् भने क्षेत्र नं  ३ बाट सिटौलाको नाम कांग्रेसले सर्वसम्बत गरेको छ ।

यहाँ हामीले पनि ती दुई नेताको क्षेत्रमा उनीहरुको पार्टी तथा गठबन्धनको भोटको अवस्था के छ भनेर स्थानीय निर्वाचनमा उक्त पार्टीले सो क्षेत्रबाट प्राप्त गरेको मतलाई विश्लेषण गरेका छौं ।

झापा क्षेत्र नं ३ मा राप्रपासँग मिल्दा सिटौला अगाडि

जिल्लाको क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी गाउँपालिका, हल्दीवारी गाउँपालिका, कचनकवल गाउपालिका, भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र बिर्तामोड नगरपालिकाको वडा नं.१० पर्दछन् ।

यो क्षेत्रमा स्थानीय तहको मतअनुसार एमालेको २० हजार २९६ मत छ भने कांग्रेसको १८ हजार २६० मतसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रको १० हजार ४४४ मत छ भने राप्रपाको १२ हजार ८८१ मत छ । एकल मतमा एमाले अगाडि भए पनि एमाले–माओवादी एकतर्फ र कांग्रेस–राप्रपा अर्कोतर्फ हुँदा बाम गठबन्धन पछाडि देखिन्छ ।

योे क्षेत्रमा कांग्रेस–राप्रपाको मत ३१ हजार ११४ छ भने एमाले–माओवादीको ३० हजार ७८० मत छ ।

निर्वाचन क्षेत्र हेरफेर भए पनि यो निर्वाचन क्षेत्रमा पुरानो ३ नम्बर क्षेत्र नै समेटेर बनाइएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पकड छ । कम्युनिष्ट गठबन्धन बन्दा समेत यो क्षेत्रमा कांग्रेस–राप्रपालाई हराउन गाह्रो देखिन्छ ।

तर, पार्टीले राप्रपासँग तालमेल गरेको र उक्त क्षेत्रमै राप्रपाको दाबी रहेकाले कांग्रेसलाई पनि अर्को अफ्ठेरो भने कायमै छ ।

कम्युनिष्ट गठबन्धनमा भने एमालेले माओवादीलाई यो क्षेत्र लिन भनेको छ भने माओवादीले यो भन्दा क्षेत्र नं २ र ४ मा रुची देखाएको बताइएको छ ।

ओलीको क्षेत्रमा बाम गठबन्धन बलियो

यो जिल्लाको क्षेत्र नं–५ मा गौरीगञ्ज गाउँपालिकाको वडा नं. ३, ४, ५, ६, गौरादह नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८ दमक नगरपालिका र कमल गाउँपालिका रहेका छन् ।

०७० सालको संविधानसभाको निर्वाचनमा अध्यक्ष ओली झापा क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । उनले १९ हजार २८७ मत ल्याएर नेपाली कांग्रेसका सुरेशकुमार याङ्गनालाई पराजित गरेका थिए । याङ्गनाको ११ हजार ४१ मत आएको थियो । माओवादी केन्द्रका गोपाल किराँतीले ८ हजार ८ सय २ मत ल्याएर चौथो भएका थिए ।

यसअघिको ७ नम्बर क्षेत्र अहिले ५ नम्बर क्षेत्रभित्र पर्दछ । यो क्षेत्रमा एमाले एक्लैको पनि राम्रै पकड देखिएको छ ।

स्थानीय तहको यो मतपरिणामलाई विश्लेषण गर्ने हो भने अध्यक्ष ओलीको सम्भावना बलियो देखिन्छ । यो क्षेत्र भित्र पर्ने वडामा एमालेका वडा अध्यक्ष ल्याएको मत कुल २६ हजार २३२ छ ।

त्यस्तै कांग्रेसले १८ हजार ६०३ मत ल्याएको देखिन्छ । तेस्रो रहेको माओवादी केन्द्रले भने ११ हजार ५८८ मत प्राप्त गरेको छ । चौथो रहेको राप्रपाको ८ हजार ९७० मत छ ।

यो क्षेत्रबाट कांग्रेसले केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस गरेको छ । यता माओवादीले पनि यो क्षेत्रबाट रेवतराज पुरी र राधिका ओझाको नाम सिफारिस गरेको छ । यो एमाले अध्यक्ष ओली उठ्ने क्षेत्र भएकाले गठबन्धन गरेको माओवादी पछि हट्ने देखिन्छ ।

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्