भूमिसुधार कार्यालयका प्रमुख एक लाख घुस सहित पक्राउ


 


राजविराज (सप्तरी), असोज २६
अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई आज अपराह्न एक लाख घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ ।

आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार कार्यालयमा आई उनलाई पक्राउ गरेको आयोगका पूर्वाञ्चल प्रमुख कालीप्रसाद पराजुलीले राससलाई बताए ।

मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेललाई रु एक लाख लिइरहेको अवस्थामा प्रहरी उपरीक्षक किसनसिंह थापाको नेतृत्वमा आएको टोलीले थलोमा नै पक्राउ गरेको बताइएको छ ।

अभियुक्त पोखरेललाई अनुसन्धानका लागि क्षेत्रीय कार्यालय लगिएको बताइएको छ । सेवाग्राही महिलालाई लामो समयदेखि दुःख दिएको र मुद्दा मिलाउन घुस मागेपछि महिलाले आयोगमा जानकारी दिएपछि पोखरेललाई पक्राउ गरिएको जनाइएको छ ।

सो कार्यालयमा विगतदेखि नै मोही मुद्दा मिलाउन घुस माग्ने गरेको सेवाग्राहीको आरोप छ ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्