गगन थापाको निर्वाचन क्षेत्र, यस्तो छ अंकगणित


 


काठमाडौं, असोज २६
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धनको घोषणा भएपछि देशभरको चुनावी माहोल उनीहरुकै पक्षमा देखिएको छ ।

प्रायः बामपन्धी साना दलहरु एमाले र माओवादीमा बिलय तथा ठूला दलको चुनाव चिन्ह लिएर मैदानमा उक्रिने भएका छन् ।

देशभरको माहोलसँगै काठमाडौंको चुनावमा पनि कुन पार्टीले जित हासिल गर्लान् भन्ने आँकलन हुन थालेको छ । पार्टी र व्यक्तिका आँकलन फरक–फरक होलान्, तर हामीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई मुख्य आधार बनाएर विश्लेषण गर्दा १० वटै तहमा बाम गठबन्धनको बर्चश्व देखिएको छ ।

२०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन तथा २०६४ को नतिजामा कांग्रेस काठमाडौंमा पहिलो दल भएपनि यो चुनावमा एक क्षेत्रमा जित्न पनि उसलाई हम्य पर्नेछ । कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र युवा नेता गगनकुमार थापा समेत चुनाव जित्नेमा ढुक्क हुन सक्ने अवस्था देखिँदैन ।

२० वर्षपछि भएको स्थानीय तह निर्वाचनमा काठमाडौंका ११ मध्ये काठमाडौं महानगरपालिकासहित ७ तह एमालेले जितेको थियो भने कांग्रेसले ४ तह मात्रै जित्यो ।

काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभाका ६ लाख ३ हजार ६२० मतदाता छन् । काठमाडौंको १० क्षेत्र अन्तर्गत पर्ने महानगर तथा नगरपालिकाका वडा अध्यक्षले प्राप्त गरेको मतलाई सो पार्टीले प्राप्त गरेको मतका रुपमा हेर्दा सबै क्षेत्रमा नै एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धन अगाडि देखिएको छ ।

कांग्रेसले पनि राप्रपासहित केही दलसँग तालमेलको तयरी गरिरहँदा २/३ क्षेत्रमा पनि बाम गठबन्धनसँग कांग्रेसले प्रतिस्पर्धा गर्ने देखिन्छ ।

एमाले–माओवादीको मत : २१,१४८
कांग्रेस–राप्रपा मत : १५,३४५

काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् ।

यो क्षेत्रमा ०७० को चुनावमा कांग्रेसका युवा नेता गगनकुमार थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुइकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुन (उपराष्ट्रपति)ले ६ हजार ४६२ मत ल्याएका थिए ।
२०६४ को चुनावमा पनि कांग्रेसकी सुप्रभा घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पराजित गरेकी थिइन् ।

तर, स्थानीय तह निर्वाचनको नजिता हेर्दा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजाअनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक अरु जित्न सकेन ।

यो क्षेत्रमा एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ मत छ ।

स्थानीय तहको नतिजाले यो क्षेत्रमा बाम गठबन्धनलाई जितका सहज छ । तर, युवा नेता गगन थापा उठ्दा दुई पक्षबीच प्रतिस्पर्धा तिब्र हुन्छ ।

यो क्षेत्रबाट विवेकशील–साझा पार्टीले २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण स्वतन्त्र भोट उनले तान्न सक्छिन् ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्