कथा : अन्तरिको देविथान
“त्यो चप्लेटी ढुंगामा त दिउँसो बार्ह बजे सुसेलेको सुनिन्छ अरे…”
“राती राती त्यो ढुंगामा आकाश मै थुरिने गरि बिरमसान उभिन्छ अरे…”
“त्यो ढुंगामा बसेर उँघ्यो भने दोखले भिरतिर ठेलिझार्छ अरे…”
“पुर्णेको बेला आईमाईको स्वरमा गीत गाएको सुनिन्छ अरे…”
यस्तै अरे…अरे को कुरा पुस्तौँ देखि चल्दै आएको छ र अझै कति पुस्तासम्म चल्छ थाहा छैन।
देबिथान भिरको कुरा हो यो। दमसाईलो परेको सालघारी भित्र कहिँ कहिँ भेटिने सल्लाहरुको निस्पट जंगल उभिँदा उभिँदा थाकेर थ्याच्च बसे जस्तै देखिने तल अलि समथर एउटा भलिबल कोर्ट जत्रो चउर। दुबो र सिरुले भरिएर छेउ छाउतिर पैनेठी, सिमाली, धँगेरा र बनमाराका पोथ्राहरु। दक्षिण पट्टि रहेको छेउमा पाँच जना जति पलेटी कसेर बस्न मिल्ने ठूलो चप्लेटी ढुँगा।
त्यहाँ भन्दा मुनि खुईलिएको तालुमा कता कता कपाल अडिए जस्तो देखिने खरका बुच्काहरु छाडेर एकै चोटि तल स्वाँं… गर्दै कुद्दै गरेको खोला। त्यहिँ ढुँगाको बाँयातिरबाट बेँसी खेतमा ओहोर दोहोर गर्ने गोरेटो बाटो। वरिपरि जंगलमा बस्तुभाउ छाडेर दिनभर गोठालाहरु यहिँ ढुंगा र चउरमा दिन काट्छन्। अनि भिरको फेदमा खोलाको किनारभन्दा अलि माथी छ अन्तरिको देविथान।
जम्दार बा को साक्कु बाजेको पनि बाजेका सात बहिनी फुफुहरु थिए। सात चेलिका दुई जना माईति अनि बाउ खान्दानी मुखिया । मुखियाको हैकम तगडा थियो, गाउँमा र घरमा पनि। पाँचौँ नम्बरकी अन्तरिका तीन दिदिहरुको बिहा भैसकेको थियो।
चैत पुर्णेको दिन गाउँभन्दा माथिको डाँडामा मेला लाग्थ्यो। अन्तरी रुपमा बिछट्टै राम्री देखिन्थिन् अनि गीत गाउन पनि उत्तिकै सिपालु। त्यो सालको चैत पुर्णेमा अन्तरी पनि सिंगारिएर मेला पुगिन्। मध्यान्हतिर गीत गाउन शुरु भयो, निक्कै बेर गीतमा रमेपछी बजार सौदाको साट्फेर गरेर घर फिरिन्।
घरको आँगनमा टेक्न नपाउँदै मुखिया बा “यसलाई आज नमारी छोड्दिन” भन्दै हातमा तोप बोकेर छोरितिरै सोझ्याए। मुखिनी हस्याँङ्फस्याङ् गर्दै कुदेर बाहिर निस्किईन् र मुखियाको हात हटाउन खोजिन्। “नसमा मलाई दिनभर लफंगाहरुसंग कुम जोडेर रत्यौली खेलेर आउँदैछे आज। मेरो नाक काटिदिई, यस्तालाई म घरको आँगन नि टेक्न दिन्न।” मुखियाको रिसको पारो चढ्दै थियो त्यहिँ बेला अन्तरी त्यहाँबाट अलप भईन्।
कुरो बुझ्दा दिउँसो गीत गाएको कुरा अघि नै डाह गरिहिँड्ने सुल्सुले जस्ता ठिटाहरुले बुढाको कान भरिदिईसकेछन्। अन्तरीको खोजी खासै भएन, साँझ पर्नै लागेकोले कतै टाढा नगई यतै कतै होलिन एकैछिनमा आउँछिन भन्ने थियो। रात परेर नि आईनन्, कोहि साथिसंग गईन भन्ने सोँचे घरमा। उता मुखिया बाको भने रिसको पारो अझ चढ्दै थियो, त्यो देखेर घरका अरुहरु डराईरहेका थिए।
भोलिपल्ट बिहान सबेरै गाइँगुइँ चल्यो, “चप्लेटी ढुंगामुनी अन्तरी लडिराखेकी छिन्” । त्यो हल्ला बिस्तारै डराउँदै डराउँदै मुखियाको आँगनसम्मै पुग्यो। मुखियाले उर्दि गरे। सबै गाउँले त्यतै सोहोरिएर गए।
चप्लेटी ढुंगामा पुग्दा देखे, अन्तरी आफैले तानमा बुनेर ओड्ने गरेको खाँडिको मजेत्रो ढुंगाको छेउमा आधा भिरतिर र आधा चउरतिर भएर हल्लिरहेको थियो। त्यहिँबाट हेर्दा त…ल खोलाको बगरमा अन्तरी कोल्टे परेर निदाए जस्तै देखिन्थिन्। सबै कुदेर झरे मुनि।
उनको जिउ काठ भईसकेको थियो। भिरमा ठोक्किदै लछारिदै झरेको प्रस्टै देखिने डरलाग्दा चोटहरु अनि नाक, मुख र कानबाट बगेको रगतले बालुवा नै सिँचित भएको।मुखियाले आवाज ननिकाली निरन्तर आँखाबाट बोलिरहे, अरुहरुले डाँको छाडेर रोए कसैले, भने कसैले उनको गुण र चालचलनको रुन्चे स्वरमा बखान गरिरहे।
आवस्यक विधि अनुसार अन्तरिको सदगद भयो। मुखियाको घरमा तीन दिनको काजकृया पछि बिजुवा राखियो। अकाल र बैँशमा मर्नेहरुलाई पितृहरुले नलिने भएकोले अन्तरी अब मामाङ् बन्ने घोषणा गरे बिजुवाले। बिजुवाको नियम मुताविक सबै कर्म गरियो। अन्तरिको आत्मालाई त्यता नजिकै भड्किन नदिन देवारी सीप लगाएर बिजुवा बिदा भए।
बेँसी खेतिपातिका लागि मुलबाटो नि त्यहिँ चप्लेटी ढुंगाको बाटो थियो। अब मान्छेहरु त्यो बाटो पहिला जस्तो रातबिरात, एक्लै दोक्लै हिँड्न नसक्ने भए। खेतिको सिजनमा आँखाले पानी देखुञ्जेल खेतमा काम गरेर परालको भारी बोकेर उकालो चढ्दा दोस्रो चोटिको बिसाउने चौतारो पनि त्यहिँ ढुंगा थियो। तर अब त्यसरी ढुक्कले हिँड्न डराउँथे मान्छेहरु।
कसै कसैले त्यो ढुंगा आसपासमा अनौँठो गरि तर्साउन थालेको हल्ला पनि गर्न थालेका थिए। छोरिमान्छे हाँसेको, गीत गाएको, पात बजाएको, अस्वभाविक आवाज सुनिने गरेको हल्ला गाउँभरी फैलियो। चप्लेटी ढुंगा आसपास गोठालो जानेहरु अचानक बिरामी पर्न थाले अनौठो गरि।
उता आफ्नो सानो रिसको सनकमा छोरी गुमाउनुपर्दाको छट्पटिले मुखियालाई ङ्याके कै थियो अझै सम्म। उनी कसैलाई पनि खासै हुकुम दिन छाडिसकेका थिए।
एकदिन गाउँका केही गन्यमान्य गाउँलेहरु मुखियको आँगनमा भेला भए। मुखिया पनि हुक्का तान्दै बिहानको तम्तमाईलो घाम तापेर बसिरहेका थिए आँगन मै। धेरैका छोराछोरी र परिवारका मान्छे अन्तरिको आत्माले गर्दा बिरामी भएका हुन भन्ने कुरा झाँक्रीले गरेका थिए।
त्यसका लागि फेरि एक पल्ट मुखियाकै घरमा झाँक्री नचाएर सबै कुराको टुंगो लगाउन सकिने कुरा नि झाँक्रीले गरेका थिए। त्यहिँ कुरा मुखियालाई बिन्ती चढाउन उनिहरु त्यहाँ पुगेका थिए। छलफल चल्यो। मुखियालाई नि मनासिव लाग्यो।मन बेचैन थियो उनको नि। अब अर्कै गाउँबाट अलि कहलिएको र अर्कै जातको झाँक्री ल्याएर काम गर्ने निधो भयो।
अन्तरी मरेको ठिक एक बर्ष पछिको चैत पुर्णेको रात झाँक्री राखियो। निक्कै बेर लाग्यो अन्तरिको आत्मालाई फकाउन। त्यसका लागि मुखियाले छोरिको आत्मासित माफी नै माग्नुपर्यो। बल्ल आधी रात कट्दै गरेपछी उनको कुरा आयो। झाँक्रीका अनुसार उनको आत्मालाई सन्तुष्ट पार्नका लागि चप्लेटी ढुंगामुनिको साजको रुखमा देविथान बनाएर हरेक बर्ष चैत पुर्णेको दिन पुजा गर्नुपर्ने भयो, जुन आज पर्यन्त जारी छ।
प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार