के भएर मिल्यो किराती कमरेडको कुरा ?


 


अन्तरसंघर्ष गरिने किरातीको प्रतिबद्धता

काठमाडौँ, असोज २४
नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथि हुँदैन भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता जनाएको बताएका छन् ।

नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकताको निर्णय भएपछि पहिचान र समावेशिता तथा समानुपातिकता विषय पार्टीले छाडेको भन्दै किराती असन्तुष्ट थिए । उनले माओवाद र पहिचानका विषयमा पार्टी प्रतिबद्ध रहेकाले पार्टी छाड्ने भन्ने कुरा नै नभएको जनाएका छन् ।

सचिवालयको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटलगायत विषयमा समेत छलफल भएको र कार्यदलले तयार पारेको प्रतिवेदनलाई एकसरो अध्ययन गरेर अन्तिम रुप दिइने निर्णय भएको छ ।

किराती माओवादी भित्र अनेक उट्पट्याङ गर्ने नेताको रुपमा चिनिन्छन् । वाम गठबन्धन बनेपछि किरातीले सामाजिक सञ्जालमा गठबन्धनको चर्का विरोध जनाएका थिए भने पार्टी पुर्नगठन गर्ने धम्की दिएका थिए । माओवादीभित्रका कतिपय नेताहरुले किरातीको यो शैलीलाई भाग खोजेको रुपमा लिएका थिए ।

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्