आखिर को थिए शरदकुमार गौचन, जसको दिन दहाडै हत्या भयो ?


 


काठमाडौं, असोज २३

अज्ञात समूहको गोली प्रहारबाट सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए ।

“एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उनको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भने।

डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जानकारी दिए ।

उनी ०७१ को मंसिरमा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । यसअघि उनले ३ कार्यकाल महासंघको सचिव हुँदै महासचिवको भूमिका निर्वाह गरेका थिए ।

हिमाली जिल्ला मुस्ताङको लेतेमा जन्मिएका गौचन निकै सरल र इमान्दार निर्माण व्यवसायीका रुपमा चिनिन्थे । डाँफे कन्ट्रक्सन उनको निर्माण कम्पनी हो, यसको संस्थापक गौचन हुन् । मुस्ताङबाटै उनले निर्माण व्यवसायको सुरुवात गरेका थिए ।

गौचनको पारिवारिक पृष्ठभूमि निर्माण व्यवसायसँग सम्बन्धित नभए पनि लामो संघर्ष गरेर उनी व्यवसायमा स्थापित भएका व्यवसायी थिए ।

सानो स्तरबाट थालेको निर्माण व्यवसायलाई उनले पछिल्लो समय फैलाउँदै लगेका थिए । उनको कम्पनीले पछिल्लो समयमा ठूला आयोजनाहरुमा निर्माणको जिम्मा पाएको थियो ।

गौचनको परिवार मुस्ताङबाट पोखरामा बसाइँ सरेको छ । पोखरामा आफ्नो व्यवसाय फैलिँदै गर्दा गौचनले नै कास्की निर्माण व्यवसायी संघको स्थापना गरेका थिए । उनले त्यहाँ संस्थापक अध्यक्षका रुपमा काम गरेका थिए ।

गौचन परिवारसहित हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए । उनका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । एक छोरी अमेरिका छिन् । गौचनका सहकर्मीहरु उनी शान्त स्वभावको ब्यक्ति भएको बताउँछन् ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्