सीमा ‘रक्षक’ देवनारायण यादव एक हप्तापछि रिहा


 


काठमाडौं, असोज २१
भारतीय प्रहरीले यही असोज १५ गते पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उनको छोरा अजयलाई साधारण तारेखमा छाडेको छ ।

शनिबार दिउँसो वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलाशले दुबै जनालाई साधरण तारेखमा रिहा गरेको हो ।

भारतको सुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई वीरपुर थानाले अपहरणको मुद्दा चलाएको थियो ।

अजयले केही महिना अघि १८ वर्षकी भारतीय युवतीसँग विवाह गरेका थिए । युवतीका परिवारले उजुरी गरेपछि अजय र उनका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको थियो ।

तिलाठीका गाउँलेले भने यादव बाबुछोरालाई भारतीय प्रहरीले फसाएको बताएका थिए । नेपाल भारत सीमामा पर्ने तिलाठिमा पोहोर भारतीय पक्षले सीमा मिच्न खोजेपछि रोक्न गएका देवनारायण भारतीय सुरक्षाकर्मीसँगको झडपमा घाइते भएका थिए । त्यही कारण यादव र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको भनाई छ ।

सीमा रक्षाका लागि लडेका देवनारायण र उनका छोराको रिहाईसँगै तिलाठीबासीमा खुशी छाएको छ । उनीहरु आजै तिलाठीस्थित घरमा आइपुगेका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्