पाकिस्तानले दियो भारतलाई डरलाग्दो चेतावनी


 


बीबीसी, असोज २१
भारतले पाकिस्तानभित्र सर्जिकल स्ट्राइक वा परमाणु केन्द्रमाथि हमला गरे पाकिस्तान चुप लागेर नबस्ने पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले चेतावनी दिएका छन् ।

वाशिङटनमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले आक्रमण गरिएको अवस्थामा पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न सुझाव दिए ।

भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रहरुलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन् ।

अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन् ।

पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव अन्त्य गर्ने प्रयासमा ख्वाजाको भ्रमण केन्द्रित रहेको बताइएको छ ।

गत अगष्टमा दक्षिण एसियासम्बन्धी आफ्नो नीतिबारे बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवादीहरुलाई आश्रय दिने काम पाकिस्तानले बन्द गर्नुपर्ने बताएका थिए ।

उनले त्यस विषयमा अमेरिका चुप लागेर बस्न नसकिने चेतावनी समेत दिएका थिए । आतंकवादीहरुलाई आश्रय दिने काम पाकिस्तानले बन्द नगरे कडा कदम चाल्न सकिनेु ट्रम्पले बताएका थिए ।

ट्रम्पको त्यस्तो अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको थियो । पाकिस्तानी विदेशमन्त्री ख्वाजाले सन् २०१४ पछि पाकिस्तानले आतंक मच्चाउने समूहलाई ध्वस्त पारिदिएको बताए ।

उनले अमेरिकासँग मिलेर पाकिस्तानले आतंकवादविरुद्धको लडाइँ जारी राख्न चाहेको उल्लेख गरे । परमाणु शक्ति सम्पन्न दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच आतंकवादी संगठनलाई लिएर प्रायः आरोप(प्रत्यारोप चलिरहन्छ ।

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्