कांग्रेसलाई फेरि धक्का, ३३ दलीय मोर्चा पनि वाम एकतामा


 


काठमाडौँ, असोज २०
साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रूपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिन समेत आह्वान गरे ।

यस्तै संसद्मा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसद्मा एक/एक सदस्य छन् ।

उता नेकपा (संयुक्त)ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रूपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्