माओवादी मन्त्रीलाई हटाउने तयारीमा देउवा, अब के हुन्छ ?


 


काठमाडौं, असोज १९
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने भएका छन् । यसका लागि अन्तिम गृहकार्य भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

देउवा यतिबेला माओवादी बाहेकको बहुमत पुर्याउने अन्तिम कसरत गरिरहेका छन् । बहुमत पुगेसँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री ज्यू हुनुहुन्छ, स्रोतले भन्यो ।

यसका लागि देउवाले राजपा, फोरम, राप्रपा लगायतका दलहरुसँग पनि छलफल गरिसकेका छन् भने कानुन व्यवसायीहरुबाट आवश्यक परामर्श समेत गरेका छन् ।

हिजो कांग्रेससँग गठबन्धन गर्न सहमत रहेका दलसहित ३०० सांसद छन् । यो संख्या भनेको सरकार बनाउनका लागि बहुमत संख्या हो । गठबन्धन बाहिर रहेको दल नेकपा संयुक्तसँग पनि तीन सांसद छन् ।

अहिले कांग्रेस २०७, राजपा २४, कमल थापाको राप्रपा र पशुपति शम्शेरको राप्रपासँग ३७, फोरम १५, लोकतान्त्रिका फोरमसँग १७ जना सांसद रहेका छन् । देउवालाई सरकार बनाउन २९७ भए पुग्छ ।

एमालेसँग गठबन्धन गरेको माओवादीलाई सरकारबाट तत्काल हटाउन देउवालाई दबाब परेको छ । त्यसैले देउवा विशेषगरी उपेन्द्र यादव र कमल थापालाई मनाउने अन्तिम कसरत गरिरहेका छन् ।

कमल थापाले ग्रिन सिंग्नल दिएको बुझिएको छ । थापासँग वार्ता गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थापाकहाँ गएका थिए । थापाले मालदार मञ्त्रालयको बारगेनिङ गरिरहेका छन् ।

फोरमले भने सरकारमा सहभागी हुने बारे निर्णय गरिसकेको छैन् । फोरमबाट सरकारमा सहभागी हुने निर्णय भए देउवाले तत्काल मन्त्रिमण्डल पुर्नगठन गर्ने स्रोत बताउँछ ।

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्