भरिएको टुँडिखेल, रित्तो टुँडिखेल (फोटो फिचर सहित)
ध्रुव सुवेदी
भोजपुर, साउन १६
बैशाख १२ गते विहानको ११ बजेसम्म भोजपुर सदरमुकामको बिचमा अवस्थित टुडिँखेल रित्तो थियो । शनिबार यो ठाउँमा एकाध मान्छे घुमफिर बाहेक कोही पनि थिएनन् । तर १२ बजेपछि भने यो टुडिँखेलले क्षणभरमै स्वरुप बदल्यो ।
११ः५६ मा गएको विनाशकारी महाभूकम्पले टुडिँखेल भरियो । मान्छेहरु कमिलासरी टुडिँखेलमा भेला भए, रुवावासी र कोलाहल मच्चियो । यहाँका कतिपयले काठमाण्डुमा आफन्त गुमाए ।
सबैका हातमा मोबाइल थिए, जो आफन्तलाई फोन गर्नमा ब्यस्त देखिन्थे । समूह–समूहमा रेडियो सुन्नेको भिड थियो । साच्चै त्यतिबेला रेडियो सबैको प्रिय सञ्चार माध्यम बनेको थियो ।
भूकम्पले सदरमुकामका घरहरु छियाछिया हुनेगरी भत्किए, चर्किए । दिन ढल्दै गयो, स्थानीयको मनमा डर, त्रास, चिन्ता र चिसोले घर गर्न थाल्यो । र, यो खुल्ला टुँडिखेल अब उनिहरुको अस्थायी बसोबासको ‘प्रिय’ केन्द्र बन्यो ।
त्यो शक्तिशाली भूकम्पपछि बेलुकापख सिमित अस्थायी टहराहरु बने । घर पुरै भत्केका र बस्नै नहुने गरी चर्केका घरका स्थानीय राति यीनै अस्थायी टहरामा बसे । धेरै त त्यो राति आफ्नै घरमा सुतेका थिए ।
टुँडिखेलमा अस्थायी टहरा तत्कालिन सदरमुकामस्थित नेपाली सेनाको गोरखबहादुर गणले बनाइदिएको थियो । विपतको साथी मानिने भोजपुरको रेडक्रस भने कहाँ हरायो कसैले पत्तो पाएनन् । विपतमा गर्नुपर्ने रेडक्रसको भूमिका भोजपुरबासीले अनुभूति नै गर्न पाएनन् ।
त्यो रात जसोतसो टुँडिखेल र आफ्नै चर्केको घरमा सुतेका भोजपुरबासी भोलिपल्ट अर्थात आइतबारको शक्तिशाली पराकम्पनबाट भने आफ्नै घर विरानो बनाए । आइतबारको शक्तिशाली पराकम्पनले भोजपुरमा बढी क्षति पुर्यायो ।
अब भने टुँडिखेलमा ठुलो मात्रामा भिड लाग्यो । अधिकांशले यही ठाउँलाई आफ्नो सुरक्षित बासस्थान ठाने । ठुला घरका मालिक सबै टुँडिखेलबासी भए । उनिहरुलाई यही ठाउँ ‘प्रिय ’ र सुरक्षित लाग्यो ।
अब को डेरावाल, को घरबेटी, को धनी को गरिब कोही छुट्टिएनन्, सबै बराबर । कतिपयले सेनाले बनाइदिएको अस्थायी टहरालाई सहारा बनाए भने कतिले आफै अस्थायी टहराका निर्माण गरे ।
दिउँसो पनि मानिसको यही ठाउँमा बाक्लो भिड लाग्न थाल्यो । आफ्ना घरहरु स्थानीयले रित्तो र एक्लै छाडिदिए । एक महिनासम्म त यहाँ पालैपालले भरिएको थियो । एक महिनापछि विस्तारै पालहरु र भिड क्रमशः हट्दै जान थाल्यो ।
करिब दुई महिनापछि विस्तारै यो क्रम घट्दै गयो । भूकम्प गएको आज १५ हप्तापछि भने यो टुँडिखेल रित्तो भएको छ । झण्डै दुई महिनासम्म त टुँडिखेलमै पालमुनि बस्यौ स्थानीय पार्वती श्रेष्ठले भनिन्, यतिबेला घरपछाडि बस्दै आएका छौं ।
यतिबेला टुँडिखेल खालि भएको छ, रित्तो भएको छ । टुँडिखेल साविककै अवस्थामा फर्किएको छ । सामान्यतया यो टुँडिखेलमा सार्वजनिक सभा समारोह हुन्छन् । राजनीतिक दलका ठुला भाषणका कार्यक्रमम यही ठाउँमा हुँदै आएको छ ।
ठुला सांगितिक र सांस्कृतिक कार्यक्रम समेत यही टुँडिखेलमा हुन्छ । विहान बेलुका स्थानीय खेलकुद गतिविधि गर्दछन् । टुँडिखेल भूकम्पपीडितको अस्थायी बसोबासको केन्द्र बनेपछि यी गतिविधि पुरै हराएको थियो भने यतिबेला विस्तारै पुरानै लयमा टुँडिखेल फर्किन थालेको छ ।
भूकम्प गएपछि यहाँको अवस्था हेर्दा यस्तो लाग्थ्यो अव यो ठाउँ भूकम्पपीडितहरुकै बस्ति हो । तर, भूकम्प गएको १५ हप्तापछि यहाँका भूकम्पपीडित तङ्ग्रिएका छन् । र, आफ्नै लयमा फर्किएका छन् ।
टुँडिखेलको इतिहास
सदरमुकामको बिचमा अवस्थित एक मात्र टुँडिखेल बि.सं १९३५ सालमा सर्बसाधारणद्वारा निर्मित हो । यो टुडिँखेल ०५२ साल साउन ४ गते सैनिकको नाममा दर्ता भएको थियो ।
जतिबेला यस क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाईएको थियो । स्थानियवासीको लामो संघर्ष पछि सेनाको कब्जामा रहेको टुँडिखेल २०६५ सालमा फुकुवा भएको हो ।
फुकुवा पश्चात टुडिखेलले नयाँ स्वरुप ग्रहण गरेको छ । यतिबेला दिनहुँ जसो यो टुडिखेलमा विभिन्न कार्यक्रम हुने गर्दछन् । सर्वसाधारणलाई आवतजावतमा समेत सहज भएको छ ।
बैशाख १२ को विनाशकारी महाभूकम्पले यहाँका सर्वसाधारणको यो ठाउँ सुरक्षित ठाउँ बन्यो । र, धेरैले यही ठाउँलाई आश्रयस्थल बनाए ।
प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार