इटहरीका बाढीपीडित बालबालिकालाई कपडा वितरण


 


इटहरी, असोज १३
इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ ।

इटहरी उपमहानगरको पूर्वी सीमामा पर्ने बूढीगंगा नदीमा आएको बाढीले घरबारसमेत गुमाई घरमा भएका लत्ताकपडा एवं भाँडाबर्तन र खाद्यान्नसमेत गुमाउन पुगेका परिवारका बालबच्चाका लागि शरीर छोप्ने कपडा अपरिहार्य देखेर आफूहरूले नयाँ कपडा दिएको मञ्चका सचिव तुलसी उप्रेतीले बताउनुभयो ।

इटहरी हङ्कङ मञ्चले बाढीपीडित बालबालिकाका लागि रु एक लाखका नयाँ लत्ताकपडा उपलब्ध गराएको सचिव उप्रेतीले जानकारी दिँदै मञ्चले बालबालिकाको शिक्षाका लागि सेड्स संस्थामार्फत छात्रवृत्ति रकम उपलब्ध गराउन रु तीन लाखको अक्षय कोषसमेत स्थापना गरेको बताउनुभयो ।

बाढीपीडित बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रममा प्याब्सन सुनसरी अध्यक्ष सुमित थापा, उद्योग वाणिज्य संघ इटहरीका सदस्य अनिल सुब्बा, राजु केसीलगायतको पनि सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्