भोजपुरमा ज्ञानेन्द्र र शेरधन कुन क्षेत्रबाट उठ्दैछन्, को–को छन् चर्चामा ?


 


ध्रुव सुवेदी
काठमाडौं, असोज १३
अबका ठिक २२ दिनपछि अर्थात कार्तिक ५ गते पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्देछन् । मंसिर १० गते हुने निर्वाचनका लागि दलहरु उम्मेदवार छान्ने आन्तरिक कसरतमा जुटेका छन् ।

पूर्वि पहाडी जिल्ला भोजपुरमा पहिलो चरणमै हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि यतिबेला दलहरु उम्मेदवार छान्ने प्रक्रियामा जुटेका छन् । माओवादी केन्द्रले त उम्मेदवार सिफारिस गरिसकेको छ ।

भोजपुरमा खासगरी दुई नेतालाई चासोको रुपमा हेरिएको छ । एक कांग्रेस केन्द्रिय सदस्य एंव बहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, दुई एमाले पोलिटब्युरो सदस्य एंव पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई ।

यी दुई नेताले कुन क्षेत्रमा उम्मेदवारी दिन्छन्, सर्वत्र चासो छ, भने बजारमा विभिन्न हल्ला आइसकेका छन् । किनभने भोजपुरमा पुरानो निर्वाचन क्षेत्र छैन्, भने घटेको नयाँ निर्वाचन क्षेत्रमा यी दुई हेभिवेटको उम्मेदवारीको बिषय निकै महत्वपूर्ण छ ।

ज्ञानेन्द्रबहादुर कार्की पुरानो निर्वाचन क्षेत्र नं १ का हुन् भने शेरधन क्षेत्र नं २ का हुन् । अहिले जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र बनेको छ । क्षेत्र नं २ कार्कीका लागि र क्षेत्र नं १ राईका लागि नयाँ हो । प्रतिनिधिसभाका लागि यसअघि दुई निर्वाचन क्षेत्र रहेको भोजपुर नयाँ संविधानको निर्माण र कार्यान्वयनसँगै एउटा निर्वाचन क्षेत्रमा सिमित भएको छ भने प्रदेश सभाका लागि मात्र पुरानो दुई निर्वाचन क्षेत्र कायम छ ।

बजारमा ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुर छाडेर सुनसरीको निर्वाचन क्षेत्र रोज्ने चर्चा छ भने शेरधन प्रदेश नं १ को मुख्यमन्त्रीका लागि प्रदेश सभाको निर्वाचनका लागि भोजपुर क्षेत्र नं २ मा उठ्ने चर्चा छ । यद्यपी दुबै नेताहरुले अन्तिम निर्णय भने लिएका छैनन् ।

कार्की भोजपुर वा सुनसरीबाट प्रतिनिधि सभाका लागि उठ्ने पक्कापक्की हो, स्रोतले भन्यो ‘उहाँको नाम दुबै जिल्लाबाट सिफारिस भएर आउँछ, अन्तिम डिसिजनको तयारीमा उहाँ हुनुहुन्छ ।’

शेरधन राई प्रदेश नं १ को मुख्यमन्त्रीका लागि दाबेदार मध्येका एक हुन् । प्रदेश नं १ नेकपा (एमाले) का लागि निकै अनुकुल र स्थानीय तहको निर्वाचनमा समेत बहुमत ल्याएको एमालेले यो प्रदेशको मुख्यमन्त्रीमा को उम्मेदवार बनाउँला ? सर्वत्र चासो छ ।

पटक–पटक निर्वाचन जितेको, मन्त्री भइसकेको, प्रदेश नं १ को एमाले सह–संयोजकको जिम्मेवारी, युवा, जनजाती यी थुप्रै कुराले शेरधनलाई मुख्यमन्त्री बन्ने आधार बनेको छ, स्रोत भन्छ, सम्भवतः राई प्रदेश सभाका लागि निर्वाचनमा उठ्छन् । मुख्यमन्त्रीको ग्रिन सिग्नल पाए, शेरधन प्रदेशमा उठ्ने तयारीमा छन् नत्र प्रतिनिधि सभाका लागि उठ्ने स्रोत बताउँछ ।

ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुर छाडे, शेरधन प्रदेशमा उठे, प्रतिनिधि सभाका लागि कसले टिकट पाउँला ? यो प्रश्न भोजपुरमा अहिले निर्क पेचिलो बनेकोे छ । माओवादी केन्द्रले नामै नसुनेका रमेश ओझाको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरिसकेको छ । अब कांग्रेस र एमालेले कसलाई अघि बढाउँलान ? भोजपुरमा चासोको विषय बनेको छ ।

प्रतिनिधिसभाका लागि भोजपुरमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् । स्थानीय तहको निर्वाचनलाई सबै आधार मान्न त सकिदैन तर यीनै दुई दल प्रतिनिधि सभाका लागि मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । स्थानीय तहको निर्वाचनमा एमाले २५ हजार बढी मत सहित पहिलो दल छ भने कांग्रेस २० हजार मत सहित दोस्रो र माओवादी १२ हजार मत सहित तेस्रो पोजिसनमा छन् ।

कांग्रेसमा ज्ञानेन्द्रबहादुर कार्कीपछि कुमारी लक्ष्मी राई, बालकृष्ण थापा, उमेशजंग रायमाझी र उत्तम चापागाँइको नाम प्रतिनिधि सभाका लागि चर्चामा छ । सम्भवतः कांग्रेसले असोज १६ गते उम्मेदवार सिफारिस गरिसक्नेछ ।

शेरधनपछि एमालेमा राजेन्द्र राईको बढी चर्चा छ । अखिलको दुई पटक केन्द्रिय अध्यक्ष भएको, खास अवसर नपाएको र निर्वाचनमा माहोल ल्याउन सक्ने नेता भएका कारण राजेन्द्रले प्रतिनिधि सभाका लागि टिकट पाउने सम्भावना बलियो छ । राजेन्द्रसँगै घनेन्द्र बस्नेत, जयन्ती राई, कृपासुर शेर्पाको चर्चा छ ।

प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं १ मा कांग्रेसबाट जिल्ला पार्टी सभापति नन्दमणी राईको चर्चा बढी छ । राईसँगै विनोद बान्तवा, हेमन्त मुकारुङ, उत्तम चापागाइले पनि दाबी गर्दे आएका छन् ।

त्यस्तै एमालेबाट प्रतिनिधि सभामा टिकट नपाए जयन्ती राई क्षेत्र नं १ बाट उठ्ने चर्चा छ । जयन्तीसँगै हरिबहादुर राई, देवीराम चौलागाँइ लगायतको चर्चा छ ।

प्रदेश सभा क्षेत्र नं २ मा कांग्रेसबाट खासै नाम चर्चामा छैन् । त्यस्तै एमालेमा पनि त्यति धेरै चर्चा छैन् । क्षेत्र नं १ को तुलनामा क्षेत्र नं २ कम नेता भएको क्षेत्र हो ।

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्