जय नेपाल ! आओ मेरा प्यारा–प्यारा भाइबैनी हो, रेडियो नजिक आओ का प्रस्तोता रहेनन्


 


काठमाडौं, असोज १२
सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिकाबीच प्रस्तुत हुने पुराना रेडियो प्रस्तोता बासुदेव मुनालको निधन भएको छ ।

मुनालको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको रेडियो नेपालका उपनिर्देशक टिका भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । मुनाललाई घाँटीमा क्यान्सर (पाइरोफ़ोम साइनस) भएको थियो ।

बिराटनगरमा वि.सं २००६ सालमा जन्मिएका मुनालले रेडियो नेपालमा चार दशक बिताएका थिए। उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरेका थिए ।

रेडियो नेपालको बाल कार्यक्रमले नै मुनाललाई बालबालिकाबीच मात्र नभएर सिङ्गो नेपाली समाजमा नै रेडियो प्रसारणको एक सफल हिरो बनायो, फेसबुकमा भण्डारीले लेखेका छन्, सूचना र संचारको क्षेत्रमा एक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा उहाँलाई चर्चित वनायो।

जय नेपाल ! ‘आओ मेरा प्यारा प्यारा भाई बैनी हो, रेडियो नजिक आओ । अब सुरु हुन्छ तिमीहरुकै बाल कार्यक्रम’ मुनालको यो आवाज नेपाली स्रोतामा कालजयी बनेको छ ।

मुनाल चर्चित गायक, गीतकारको परिचय सँगै थुप्रै लोक शैलीका गीतहरु समेत गाएका छन् । पानी खाने निउंले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट आदि उनका धेरै चलेका लोक गीतहरु हुन् ।

प्रकाशित मिति: १२ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्