वीरगन्ज महानगरमा फोरम नेपालका उम्मेदवार विजय भए विजयी


 


वीरगन्ज, असोज ११

वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आज अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय कुमार सरावगी १९ हजार ३९३ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १९७ मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका शान्ति कार्की १९ हजार ६०७ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरमका पिन्की यादवले १८ हजार ५३० मत हासिल गरेका छन् ।

वीरगन्ज महानगरपालिकाको ३२ वडामध्ये फोरम १२, काँग्रेस १०, नेकपा एमाले ५, राजपा नेपाल ३, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक १÷१ स्थानमा वडा अध्यक्षमा निर्वाचत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह तेस्रो चरण निर्वाचनका लागि असोज २ गते भएको मतदानमा वीरगन्ज महानगरपालिकामा ८४ हजार १६० मत खसेको थियो ।

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्