राष्ट्र बैंकमा कर्मचारीको ३० वर्षीय अवधि हट्यो, अब ५८ वर्ष उमेर


 


काठमाडौँ, असोज ९
नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० वर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले ३० वर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए । निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो ।

कर्मचारीको मागको सुनुवाइ गर्न बैठकले सञ्चालक समिति सदस्य रामजी रेग्मीको संयोजकत्वमा दुई डेपुटी गभर्नर र प्रवक्ता पौडेल सदस्य रहेको समितिसमेत गठन गरेको छ ।

उमेर हद हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका लागि अध्ययन गर्न गठित समितिले राष्ट्र बैंकको प्रस्तावित संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्