१० वटा बैंकले खिम्ती–२ मा ६ अर्ब लगानी गर्दे, कुन–कुन छन् बैंक ?


 


काठमाडौँ, असोज ८
खिम्ती–२ जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा ‘क’ वर्गका बैंकले लगानी गर्ने भएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा खिम्ती–२ जलविद्युत् आयोजनाको प्रवद्र्धक पिपल्स इनर्जी प्रालि र बैंकका तर्फबाट प्रमुख बैंक सानिमा बैंक लिमिटेडबीच ऋण सम्झौतामा हस्ताक्षर गरियो ।

प्रवद्र्धकका तर्फबाट पिपल्स इनर्जी प्रालिका अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकका तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे। आयोजनामा सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले संयुक्त रुपमा लगानी गरेका छन् ।

सो आयोजनामा कूल आठ अर्ब ६५ करोड रहेको छ । त्यसमा बैंकले ६ अर्ब ४८ करोड ४० लाख ऋण लगानी गर्ने भएका छन् । कूल ४८.८ मेगावाट क्षमताको सो आयोजना २०७८ असार समान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दोलखा र रामेछाप जिल्लाको सिमाना भएर बग्ने खिम्ती नदीमा निर्माण गर्न लागिएको सो आयोजनाले २०७३ साल फागुनमा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको हो ।

कुल २६ करोड युनिट वार्षिक ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको खिम्ती खोला र पलाँती खोलाको दोभानभन्दा २५० मिटरमाथि विद्युत्गृह निर्माण हुनेछ भने उत्पादित विद्युत् न्यू खिम्ती सवस्टेशन, किर्नेटारमा जोडिनेछ ।

हाल आयोजनाको प्राविधिक कामका अलावा र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । आयोजनाको निर्माण शीघ्र शुरु गरिने जानकारी दिँदै अध्यक्ष आचार्यले आयोजनामा तीन हजार ५०० जनाले संस्थापक शेयर लगानी गरिसकेका छन् । कम्पनीले संस्थापनक शेयर लगानीका लागि आम नेपाली नागरिकलाई समेत आह्वान गरेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले आयोजना आकर्षक र प्रवद्र्धक इमान्दार देखिएकाले आफूहरुले संयुक्त रुपमा लगानी गरेको बताए । रासस

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्