आमाको मुटु र दशैँ


 


कविता राई गाउँले

का…का…का…
आज पनि एकाबिहानै
घरको धुरीमा आएर कागले
आमाको मुटु चोइट्याएर लग्योे…!

घरनजिकैको गुहेखोलाको डिलैडिल
हरियै फुलेको सिस्नुघारीमा बसेर
शरदगीत गाइरहेको घामकीराले पनि
अर्को दिन फेरि आमाकै मुटु ताक्यो…!

त्यतिबेला आमा कोठेबारीमा
रायोको साग टिप्न जानुभएको थियो
विदेसिएको छोरो सम्झिँदै–
‘उसलाई सुँगुरको मासुमा रायोको साग
कस्तरी मन पर्छ ।’

आजकाल घरदेखि अलिक पर
टारबारीमा पाकिसकेको पाँदुरेकोदो
टिप्ने जाँगर मारेर आमा
मात्र हेर्नु हुन्छ बारीका गराहरू
र, सुस्केरा हाल्नुहुन्छ
नियाल्दै पारि डोरीजस्ता गोरेटाहरू…!

अब त
चल्नै छोडिसक्यो आमाको जाँगर
चलोस् पनि कसरी !
कि, घरमा पाँदुरेकोदोको तोङ््बा तान्ने
सुँगुरको मासुमा रायोको साग
मन पराउने छोरो घरमा भए पो !

ओहो !
कोदाका दानाहरूमाथि उडिहिँड्ने
दशैँकीराले फेरि यही बेला
आमाको मुटु ताछिलग्यो…!

पँधेराछेउको बाँसझ्याङ्गका तामाहरू
हुर्केर बाँसै भए यस वर्ष पनि
ती तामाका मुनालाई मेसु बनाएर
अमिल्याउन मनै लागेन आमालाई…!

हरेक साँझ–हरेक बिहान
त्यही बाँसझ्याङमा बसेर
घरी मिल्दै घरी बाझ्दै गरिरहने
रूप्पीका बथानहरूको आवाज पनि
कस्तरी कर्कश लाग्न थाल्यो
र, त्यही आवाजले कोतरी लग्यो
आमाको आधा मुटु….!

बढार्दा बढार्दैको आँगनको धुलो
उडेर आउँछ र ढाक्छ आमाको आँखा
आउँछ त्यही धुलोमा नाति खेलिरहेको दृश्य
नाच्छ उही आँखामा
नाति उफ्रिरहेको÷नाति नाचिरहेको दृश्य
आमा !
थचक्क बसेर आँखा चिम्म गर्नु हुन्छ
उफ !
आँगनको धुलोले फेरि
सोला हान्न थाल्छ आमाको मुटु…।

आमाले धुम्धुम्ती अगेनामा अगुल्टो झाँेस्दै
दिउरेमा दूध पकाइरहेको बेला
उम्लिन्छ दूध र पोखिन्छ अगेनामा
आमा !
स्नेह र ममताले लछप्पै रुझ्नु हुन्छ—
‘बुहारीलाई दूधको छाली,
नातिलाई कुराउनी कस्तो मन पर्छ…!’

सम्झना हुन्छ आमालाई
शहर बस्ने बुहारी र नाति पनि
दशैँमा घर नआउने खबर
जसले ममतामयी आमाको मुटु
खाइदिन्छ अनायासै ख्वाप्लक्क…!

बाबा बितेको पल
छिया–छिया भएको आमाको मुटु
छोराको मुख हेरेर
अलि–अलि जोडिएको थियो
तर, गाउँका सारा छोराहरूसँग
आफ्नो छोरो पनि परदेश लाग्दा
उसलाई रोक्न नसकेको दिन आमाको मुटु
गन्नै नसकिने गरी टुक्रिएको थियो…!

का…का…का…
आज पनि एकाबिहानै
घरको धुरीमा आएर कागले
आमाको मुटु चोइट्याएर लग्योे…!

– मध्यपुरथिमी, गठ्ठाघर, भक्तपुर

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्