नेपालीका हिरो-दयाहाङ राई


 


दयाहाङको फिल्मी यात्रा

दयाहाङ राई हिरो हुनकै लागि त जन्मिएका थिएनन्। तर, बच्चैदेखि हिरो हुने रहर भने पालेका रहेछन्। त्यो पनि कुनै फिल्म हेर्दै नहेरी । जब गाउँका आफूभन्दा ठूला दाइहरूले फिल्मको कहानी सुनाउँथे, हिरोले गुन्डा कुटेको र हिरोइनसँग नाचेको, तब उनी हिरो बनेको सपनामा डुब्थे।

तर, राजेश हमालको कसम फिल्म हेरेपछि हिरोको सपना जिरोमा झर्‍यो। राजेशको गर्जन र ज्यानले उनको सात्तो उड्यो। उनका सामु कुनै कोणबाट पनि आफूलाई हिरो हुन लायक देखेनन् । जतिबेला उनी १२ वर्षका थिए।

त्यसको दुई दशकपछि उनी तिनै राजेशको प्रतिस्पर्धी भएका छन्। उनैसँग आँखा जुधाएर अभिनय गर्दै छन्। कोर्ट मार्सल नाटकपछि दयाहाङले राजेशसँग अभिनय गरेको पहिलो फिल्म मुखौटा १६ जेठमा रिलिज हुँदै छ। प्रदर्शन जारी फिल्म कबड्डी हेर्न हल ओइरिएका दर्शकको हुल नै दयाहाङको लोकपि्रयता आकलन गर्न पर्याप्त छ।

दयाहाङको आगमनसँगै हिरोको ‘स्टेरयिोटाइप’ छाप बदलियो । केही वर्षअघिसम्म बलिष्ठ शरीर, चकलेटी अनुहार र ठूलो गर्जन हिरो हुनका लागि अनिवार्य सर्त थिए तर अहिले चिम्सा आँखा, मोटो शरीर, मध्यम कद, थेप्चो नाक पनि हिरोका लागि स्वीकार्य छन् ।

फिल्मप्रतिको सोच र मान्यतामा आएको बदलावका कारण पनि दयाहाङ र उनीजस्ता वैकल्पिक अनुहारका लागि केन्द्रीय चरत्रिको स्थान बनेको हो ।

नयाँ पुस्ताले फिल्म भनेको कथा भन्ने शैली हो, कथा आफ्नो परिवेशको हुन सक्छ र चरत्रि पनि सोही सापेक्षमा तयार हुन्छ भन्ने उदात्त दृष्टि राख्दा बल्ल फिल्ममा समावेशी अनुहारको उदय सहज र स्वाभाविक भयो ।

फिल्ममा आएको परविर्तनको यही कडीका प्रमुख प्रमाणका रूपमा दयाहाङ स्थापित भएका हुन् । यदि फिल्ममा यो मान्यताले स्थान पाउँदैनथ्यो भने उनी हास्यपात्रमा मात्र सीमित हुन्थे । कबड्डीजस्ता पूरै कथा बोक्नु उनका लागि असम्भवप्रायः थियो । थकाली समुदायमा रहेको ‘मामाचेला-फुपूचेली’ सम्बन्धमा आधारति यो फिल्ममा उनले काजीको भूमिका निर्वाह गरेका छन् ।

जतिबेला दयाहाङ फिल्ममा प्रवेश गर्दै थिए, त्यतिबेला फिल्मको कथा र प्रस्तुतिमा नयाँपन खोजिँदै थियो। बलिउडबाट चोरएिका फिल्म हेर्दाहेर्दा दर्शक दिक्क भइसकेका थिए ।  कथा मात्र होइन, कलाकारको अभिनय पनि मौलिक हुँदैनथ्यो। “हामीले फिल्ममा आफ्नै कथा भन्न थाल्यौँ ।

पात्रहरू पनि यही समाजबाटै लियौँ,” दयाहाङ जिस्कँदै भन्छन्, “नत्र, मजस्तो चिम्से कहाँ फिल्मको हिरो हुन्थेँ र ?” तर, यही चिम्सेले हिरो हुनका लागि गरेको संघर्ष निकै रोचक र प्रेरणादायी छ।

कसम हेरेपछि दयाहाङको हिरो बन्ने लहड त हट्यो तर सँगै निर्देशनको भूत चढ्यो। किनभने, पर्दामा नदेखिने भएकाले निर्देशक बन्न हमालजस्तो ह्यान्डसम हुनु पर्दैनथ्यो । फिल्म हेर्दा उनी हिरोलाई भन्दा कथा र फिल्म कसरी खिचियो होला भन्नेतर्फ दिमाग खेलाउन थाले ।

जन्मस्थान भोजपुरको विकट खावा गाउँमा हुँदै कथाका प्लटहरू सोच्न थालिसकेका थिए उनले । जुन प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेपछि भोजपुरबाट काठमाडौँ आएर राष्ट्रिय नाचघरमा नाट्य कार्यशालामा भाग लिँदासम्म हटेको थिएन । त्यतिबेला पनि उनी ब्याक स्टेजमै काम गर्छु र बिस्तारै निर्देशक बन्छु भन्ने योजनामा थिए ।

तर, नाटक सिकाउने गुरु अनुप बरालले तत्कालका लागि उनको निर्देशक बन्ने सपना तुहाइदिए, करबि करबि राजेशले हिरो बन्ने सपना तुहाइदिएको शैलीमा । फरक कति मात्र हो भने उनकै हितका लागि निर्देशनभन्दा अभिनय गर्न बढी जोड गरेका थिए अनुपले ।

कार्यशाला सकिएपछि अनुपले नाटकमा अभिनय गराउन खोजे तर उनी मान्दै मानेनन् । अन्ततः  निर्देशकको जिद्दीका अगाडि केही सीप चलेन। अनुप सम्झन्छन्, “त्यतिबेला उनी निकै लजाउँथे ।

हल्का डर पनि थियो होला । तर, उनको भित्री चाह कलाकार बन्ने हो भन्ने भेउ पाइसकेको थिएँ। क्षमता पनि थियो । त्यसैले जबरजस्ती नाटकमा काम गराएँ ।”

सरुभक्तको नाटक सिरुमा रानी दयाहाङको अभिनय यात्राको पहिलो पाइला बन्यो। नाटकमा उनले एउटा बूढाको चरत्रि निर्वाह गरेका थिए, जुन दर्शक र नाट्यकर्मी सबैले मन पराए । उनी बिस्तारै रंगमञ्चमा जम्न थाले ।

रंगमञ्चले मात्र उनको अभिनयको भोक शान्त गर्न सकेन । त्यसैले फिल्ममा फड्को मार्ने प्रयास गर्न थाले । यो कुरा २०६०/०६१ तिरको हो । जतिबेला राजेश हमाल, निखिल उप्रेती, विराज भट्टजस्ता एक्सन हिरोहरूको राज थियो, फिल्ममा ।

त्यही कारण फिल्म खेलाउनुपर्‍यो भनेर न उनले कुनै फिल्मकर्मीलाई भन्ने आँट गरे, न कसैले उनको क्षमता पहिचान गर्‍यो। एक-डेढ वर्ष यत्तिकै बित्यो ।

एक दिन संयोगले निर्देशक रामबाबु गुरुङसँग भेट भयो । गुरुङ संस्कृतिमाथि फिल्म बनाउन लागेका उनलाई मंगोल अनुहारको कलाकार चाहिएको थियो । तर, भनेजस्तो भेट्टाएका थिएनन् ।

त्यसैले दयाहाङलाई ‘मिस’ गर्न चाहेनन् । “दयाहाङमा अभिनय क्षमता पनि थियो तर त्यसभन्दा ज्यादा मंगोल अनुहारका अरू कलाकार नभेटेकाले उनलाई काम गराएको थिएँ,” गुरुङ नढाँटी भन्छन् ।

यसरी दयाहाङले खेलेको पहिलो फिचर फिल्म थियो, अनागरकि । दुर्भाग्य कस्तो भने फिल्म च्यारिटी सोहरूमै सीमित भयो । तर, यही फिल्मले उनलाई क्यामेरा फेस गर्न सिकायो । कमीकमजोरी पनि थाहा पाए । अभिनयप्रति मोह अझ जाग्यो ।

त्यतिबेलासम्म अनुपले एक्टर्स स्टुडियो खोलिसकेका थिए । उनी एक्टर्स स्टुडियो धाउन थाले । बुद्धनगरबाट स्वयम्भूसम्म हरेक दिन हिँडेरै पुग्थे । लगत्तै सुदर्शन थापाको मेरो एउटा साथी छ फिल्ममा सानो भूमिका पाए । क्षमता अनुसार उक्त भूमिका पर्याप्त थिएन तर त्यही अवसरलाई पनि सदुपयोग गर्न भुलेनन् ।

उनी सम्झन्छन्, “अभिनय सिकेपछिको पहिलो फिल्म भएकाले त्यो मेरा लागि एक्सपेरमिेन्ट थियो । त्यसैले छोटो भए पनि गुमाउन चाहिनँ ।” त्यही मिहिनेतको फलस्वरूप उनले दासढुंगाजस्तो बहुचर्चित फिल्ममा महत्त्वपूर्ण भूमिका पाए, गुरु अनुपका कारण ।

निर्देशक मनोज पण्डितले दासढुंगाको कथा सुनाएपछि कास्टिङ डाइरेक्टर अनुपलाई लाग्यो, अमर लामाको भूमिकामा दयाहाङ निकै फिट हुन्छन् । त्यसैले अनुपले मनोज र दयाहाङको भेट गराए ।

तर, संवेदनशील भूमिका भएकाले मनोजले दयाहाङलाई पत्याएनन् । अनुपले बोल्ड डिसिजन लिए, “दयाहाङलाई अमर लामाको भूमिका नदिने हो भने कास्टिङ डाइरेक्टरबाट मेरो नाम हटाइदिनू ।” दयाहाङलाई कास्ट गर्न उनले यति हदसम्मको जिद्दी गरेका थिए ।

गुरुले यति जोखिम मोलेर दिलाएको भूमिकाले उनलाई पनि फिल्ममा काम गर्न सक्छु भन्ने आत्मविश्वास दिलायो, पहिलोपटक। डेढ दर्जन फिल्म खेलिसक्दा पनि यी अभिनेता अमर लामाको त्यही भूमिका सम्झन्छन् । भन्छन्, “मभित्र अभिनयको बीउ रोप्ने, उमार्ने, हुर्काउने र फलाउने सबै अनुप सर नै हो ।”

अमर लामाबाट एकैपटक दयाहाङ गोफ्ले बने फिल्म लुटबाट। लुटका निर्देशक निश्चल बस्नेतले दासढुंगा हेरेपछि उनकै लागि यो चरित्र निर्माण गरेका थिए । कथा र प्रस्तुति नौलो भएकाले फिल्म ब्लकबस्टर भयो । उनी रातारात स्टार बने । यो फिल्म उनको करिअरको ‘टर्निङ प्वाइन्ट’ बनिदियो । नयाँ फिल्मकर्मी मात्र होइन, छविराज ओझाजस्ता मूलधारका निर्माता पनि उनलाई अभिनय गराउन लालायित देखिए ।

लुटपछि हाइवेबाट सुरु भएको यात्रा साँघुरो, वधशाला, उमा, छड्के, कर्कश, लोफर, झोले हुँदै अहिले कबड्डीसम्म आइपुगेको छ । यी फिल्मले नेपाली सिनेक्षेत्रमा उनको छुट्टै ब्रान्ड स्थापित भएको छ ।

टलकजंग भर्सेज टुल्के, नागबेली, राहदानी, तान्द्रो, इच्छा, जिन्दावादजस्ता रिलिजका क्रममा रहेका फिल्मले उनको ब्रान्ड अझ मजबुत बनाउनेछ । हास्यरस अभिनयका कारण उनी मल्टिप्लेक्स र सिंगल दुवै दर्शकको रोजाइ बनेका छन् ।

लुटपछि रिलिज भएका नौ फिल्मले गोफ्ले चरत्रिलाई ओभरल्याप गर्न भने सकेको छैन । अझ पनि उनलाई गोफ्ले भनेरै चिनिन्छ। उनको सबैभन्दा ठूलो चुनौती यही भएको अनुपको बुझाइ छ । “अब पनि उसलाई गोफ्ले भनेर चिनिरहनुपर्‍यो भने राम्रो हुँदैन । फिल्मैपिच्छेका चरत्रि स्थापित हुनुपर्छ,” उनी भन्छन्, “होइन भने केही वर्षपछि दयाहाङ पनि स्टेरियोटाइप अभिनेताको कोटीमा पर्नेछन् ।”

कबड्डीको काजीले गोफ्लेलाई केही धक्का दिएको महसुुस गरएिको छ। तर, यति नै पर्याप्त नभएको दयाहाङ आफैँ पनि स्वीकार्छन् । दर्शकले कमेडी आर्टिस्टका रूपमा लिइदेलान् भन्ने चिन्ता छ उनलाई ।

निश्चल भन्छन्, “दयाहाङ दाइले चरत्रिमा विविधता दिन सक्नुपर्छ तर उहाँ मुख बिगारेर हँसाउने कमेडियनचाहिँ होइन, इन्टरटेनर हो ।” कमेडियनको छाप मेटाउन निश्चलले नयाँ फिल्ममा दयाहाङलाई लभरब्वाईको भूमिकामा उतार्दै छन्, जसका लागि उनले ज्यान घटाउन भनिसकेका छन् ।

आठ वर्षअघिको अनागरकिमा भन्दा अहिले दयाहाङको अभिनय र फिल्मलाई हेर्ने दृष्टिकोणमा निकै परपिक्वता आइसकेको छ। पात्रको पृष्ठभूमि अध्ययनले उनलाई दर्शकको मनोविज्ञान बुझ्न सघाउ पुर्‍याएको छ ।

बिकाउ ‘स्टार’ भईकन पनि आफ्नो भूमिका कति लामो वा छोटो भन्नेलाई महत्त्व दिँदैनन् उनी । केवल कथामा भूमिका फिट हुनुपर्‍यो र भूमिकामा आफू । यत्ति भए पुग्यो।

अहिले दयाहाङलाई फिल्म खेलाउन निर्माताले कम्तीमा सात लाख रुपियाँ पारश्रिमिक दिनुपर्छ । लोकपि्रयताका आधारमा यो पारश्रिमिक बढी होइन । र, यति महँगो हिरो भईकन पनि उनमा कुनै घमन्ड छैन। जीवनशैली निकै सरल छ ।

न खानामा च्वाइस, न लगाउनमा । सामान्य होटलमा बसेर चिया र चुरोट तान्न मात्र होइन, सार्वजनिक यातायात चढ्न पनि धक मान्दैनन् दयाहाङ । त्यसैले त निर्देशक अनुप भन्छन्, “ऊ लामो रेसको घोडा हो । फिल्मी रूपमा नेपालीका हिरो ।”

गत २०७१ बैशाखमा प्रकाशित यो सामाग्री हामीले नेपाल म्यागेजिनबाट लिएका हौ ।

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्