एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक, दुईसय ९८ टोलीबाट मतगणना हुँदै


 


काठमाडौँं, असोज ४

प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७६ दशमलव ८ प्रतिशत मत खसेको थियो । दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट बिहान ९ः३० बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ । त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्