बहादुरलाई ग्रामीण विकास अभियानको सहयोग


 


काठमाडौं, असोज ४
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ४ दलगाउँ लाकुरेका तारा बहादुर मगर (बहादुरे) लाई ग्रामीण विकास अभियान (RDM) ललितपुरले नगद रकम तथा छोराछोरीलाई लत्ताकपडा हस्तान्तरण गर्ने भएको छ ।

विगत १० वर्ष देखि अज्ञात रोगले पीडित भई कुजो शरीरमा थलिएका उनलाई औषधि उपचार तथा छोराछोरीलाई पढ्ने खर्च राहत स्वरुप ३८ हजार आठ सय नगद सहयोग गर्न लागिएको हो ।

उनलाई सहयोग स्वरुप यो खच जुटाउन फेसबुक मार्फत सहयोगको लागि अपिल गरिएको थियो । जसअनुरुप विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । अमेरिका, इजरायल, दुवई, मलेसिया तथा नेपालमै रहेका सहयोगी मनहरुले पीडित बहादुरेको लागि यो सहयोग गरेका हुन् ।

उक्त सहयोग रकम संस्थालाई प्राप्त भएको हुँदा विरामीलाई घरमै पुगेर बडादशैको फुलपातीका दिन सार्वजनिक कार्यक्रमका बीच हस्तान्तरण गर्ने संस्थाका अध्यक्ष एकराज भुजेल लज्जालुले बताए ।

उनका छोराछोरीलाई लत्ताकपडा दलगाउँमा जन्मिएर काठमाण्डौंमा रहेका गिता तामाङ्ग र निर्मला राईले उपलब्ध गराएका छन् । सहयोग गर्ने सबैलाई संस्थाले धन्यवाद दिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्