श्रीमानबाटै बेच्ने प्रयासः बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा


 


बाजुरा, असोज ३
छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार ०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पतालमा गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुके रोकायाबीच वैशाख ०७४ मा प्रेमविवाह भएको थियो । विवाह भएको करिब दुई महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमान्सँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् । तर, अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् । आजको नयाँ पत्रिकामा खबर छ।

कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा उनीहरूबीच मेलमिलाप भएको थियो ।

भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकका साथ लगाएर सडकमै छोडेर भागेको कुन्ताकुमारीले बताइन् । टेम्पु चालकसँग श्रीमान्बारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफँैले गरिदिने बताएको कुन्ताको भनाइ छ ।

उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको उनले बताइन् । कराउन थालेपछि टेम्पोचालकले राम्रो पैसा कमाइ हुने ठाउँमा लैजाने, मीठोमीठो खान दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए,’ उनले भनिन् ।

पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको कुन्ताले बताइन् । पुलिसले थाहा पाएपछि टेम्पोचालकले सडकमा छोडेर भागेकोे उनको भनाइ छ । प्रहरीले आफन्तकहाँ पु¥याइदिएपछि उनीहरूकै सहयोगमा नेपाल आएको बुढाले बताइन् ।

‘नेपाल आएर जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिए,’ उनले भनिन् । दलाललाई श्रीमती जिम्मा लगाउने रोकाया भने फरार रहेको इलाका प्रहरी कार्यालय दोगढीले जनाएको छ । कुन्ताका आफन्तले भने रोकायाले यसअघि पनि गाउँका चेलीबेटी भारत लगेर बेचेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्